झापाका सुरक्षा निकायलाई नागरिक तहबाटै उल्लेख्य सहयोग
बिर्तामोड । सहारा नेपालले झापाको सुरक्षा निकायका लागि टेन्टसहित ६ लाख बराबरको विभिन्न सामग्री उपलब्ध गराएको छ । सहाराले बुधबार टेन्टसहित अन्य सामग्री उपलब्ध गराएको हो ।
कोरोना रोकथाम , नियन्त्रणसँगै सीमा सुरक्षामा बसेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उक्त सामग्री उपलब्ध गराइएको छ । यस्तै, मेची अभियानले २ थान झापा प्रहरीलाई ‘डिसइन्फेक्सन टनेल’ हस्तान्तरण गरेको छ ।

सो ‘डिसइन्फेक्सन टनेल’ कोभिड–१९ को सङ्क्रमण रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रवेशद्वारमा जडान गरिएको छ । प्रहरीलाई ‘डिसइन्फेक्सन टनेल’ हस्तान्तरण गरेको अभियानका संयोजक विजय डालमियाले बताए । दुवै टनेल प्रहरी कार्यालयको प्रवेशद्वारमा राखिएको छ ।

प्रहरीलाई तेजन अधिकारीले आफ्नो हार्डवेयरबाट ६ थान त्रिपाल, शनिश्चरे हार्डवेयर व्यवसायीबाट ६ थान टिन, सुरुङा उधोग वाणिज्य संघबाट २० हजार बराबरको त्रिपाल र टिन सहयोग गरिएको छ । यस्तै हार्डवेयर व्यवसायी संघ बिर्तामोडबाट १२ फुटे १ सय थान र ९ फुटे ५० थान टिनसँगै ३० थान त्रिपाल उपलब्ध गराइएको छ । संघका झापा अध्यक्ष मात्रिका कोइरालाको पहलमा जस्तापाता र त्रिपाल उपलब्ध भएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
नागरिकको समन्वयमा काम गर्दै आएको झापा प्रहरीलाई सुरक्षाका लागि आवश्यक सामग्री जुट्न थालेको छ । विशेष गरी कोरोना विरुद्धको सुरक्षामा लागेको सुरक्षा निकायलाई आधारभूत सामग्री नहुँदा समस्या भइरहेको थियो ।