झापाका सांसदलाई जिल्लाको वस्तुस्थितिबारे ब्रिफिङ, मुस्लिम समुदायको आसन्न रमजान घरमै मनाउन आग्रह
बिर्तामोड । झापाबाट निर्वाचित सांसद्हरुसँगको छलफलले झापाको सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि अस्थायी सुरक्षा पोष्ट निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

आज जिल्ला समन्वय समिति झापाले आयोजना गरेको सांसद्हरुसँगको बैठकले अस्थायी पोष्ट निर्माण गर्नेसँगै आसन्न मुस्लिम समुदायको रमजान पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ ।
जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार सुरक्षा निकायबाट प्रस्तुत भएका समस्यालाई समाधानका लागि पहल गरिदिन प्रदेश र संघका सांसदसँग माग गरिएको छ । उनका अनुसार छलफलले सीमा क्षेत्रको अनुगमन तथा निरिक्षण सांसद् सहितको टोलीले गर्ने भएको छ ।
छलफलका क्रममा झापाका सुरक्षा निकायका प्रमुखले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई बस्न र खान समस्या भएको अवगत गराएका थिए । सांसद्हरुले भने किसानलाई मल, इन्धनको व्यवस्था तत्काल गर्नुपर्ने र राष्ट्रियस्तरका आयोजानहरु सञ्चालन गर्न सोच्नुपर्ने सूझाव दिएका छन् ।
सोहि क्रममा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रणका लागि झापामा भएको वर्तमान वस्तुस्थिति बारे जिसस, सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीबाट सांसद्हरुलाई जानकारी गराइएको जिसस झापाका निमित्त समन्वय अधिकारी गोपाल लिम्बूले जानकारी दिए ।