बुद्धशान्तिको राहत कोषमा वाणिज्य संघको १ लाख ४१ हजार सहयोग
चन्द्र वाग्ले
बुधबारे । झापा उद्योग वाणिज्य संघ बुद्धशान्ति शाखाले गाउँपालिकाले स्थापना गरेको राहत कोषमा शुक्रबार एक लाख ४१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । वाणिज्य संघको अग्रसरतामा बुद्धशान्ति क्षेत्रका उद्योगी, व्यवसायीका तर्फबाट गाउँपालिकाको राहत कोषमा रकम हस्तान्तरण भएको हो ।

उद्योग बाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईं, निवर्तमान अध्यक्ष गोविन्द पौडेल लगायतका पदाधिकारीले गाउँपालिका कार्यालय पुगेर अध्यक्ष रमेशकुमार भुजेल र उपाध्यक्ष मीरा भूर्तेललाई राहत रकम हस्तान्तरण गरेका हुन् । विषम परिस्थितिमा संघले गरेको सहयोगप्रति गाउँपालिकाले धन्यवाद दिएको छ ।
बुद्धशान्तिका उद्योगी व्यवसायीले यसअघि पनि राहत कोषमा सहयोग गर्दै आएका थिए । कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा विपन्न नागरिकको राहतका लागि सहयोग गर्नु कर्तव्य भएको बताउँदै संघले आगामी दिनमा समेत यस्ता खाले सहयोग जारी रहने जनाएको छ ।