पूर्वी नाका बन्द हुँदा डिजेल, पेट्रोलमा १ रुपैयाँ ३ पैसा घाटा भएको व्यवसायीको दावी
अनिल वाग्ले
झापा । पूर्वी नाका बन्द भएपछि पूर्वका करिव २५ पेट्रोल पम्पहरुले डिजल र पेट्रोलमा प्रति लिटर १ रूपैंया ३ पैसा घाटा बेहोरिरहेको पेट्रोल पम्प सञ्चालकहरूले बताएका छन् ।

सिलिगुढि हुँदै आयल निगमको चारआली डिपो आउने पेट्रोलियम पदार्थ यतिबेला नाका बन्द भएपछि अमलेखगञ्ज हुँदै बिराटनगरबाट आउने गरेको छ । जसले गर्दा पूर्वको पनि विलिङ पोइन्ट बिराटनगर भएको र ढुवानी भाडा बढि भइरहेको जनकल्याण शिव स्टोर बुधबारेका संचालक समेत रहेका नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय सचिव लयप्रसाद भण्डारीले बताए ।
उनले विलिङ पोइन्ट बिराटनगर भएको र त्यहाँबाट आउँदा लाग्ने ढुवानी भाडा जोडेर बेच्न पाउनुपर्ने माग राखेका छन् । यस बिषयमा सम्बन्धित सबै निकायमा जानकारी गराएको बताउँदै लिखित रूपमा नेपाल आयल निगमले पम्प संचालकलाई त्यो अधिकार दिनुपर्ने माग राखे ।
विलिङ पोइन्टबाट १५ किलोमिटरको दुरी देखि ढुवानी भाडा जोड्न पाउने प्रावधान रहेको र सोहि अनुसार उनले यसअघि चारआली डिपोबाट विलिङ पोइन्ट रहेर कारोबार गरिरहेका पेट्रोल पम्प सञ्चालकहरूले विलिङ पोइन्ट बिराटनगर रहुञ्जेल बढेको ढुवानी भाडा अनुसार डिजेल र पेट्रोलमा प्रति लिटर १ रूपैंया ३ पैसा जोडेर ग्राहकसँग लिन पाउनुपर्ने माग राखेका छन् ।