बैशाख २७, २०८२ शनिबार

लकडाउनबारे सरकारका ३ विकल्प तयार, २ बजेको मन्त्रिपरिषद् बैठक निर्णय गर्ने

काठमाडौं– चैत ११ गतेदेखि जारी लकडाउन पाँचौ पटक थप गर्ने विषयमा आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल हुँदैछ । चौथोपटक थपिएको म्याद भोलि सोमबार सकिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे निर्णय गर्न दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सात–सात दिनका लागि म्याद थप गर्दै आएको सरकारले यसअघि वैशाख २ गते भने १२ दिनका लागि म्याद थप गरेको थियो ।

लकडाउन थप गर्ने÷नगर्नेबारे सरकार अध्ययनमा रहेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चार र सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

नोभल कोरोना रोक रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले मुख्यसचिव नेतृत्वमा गठन गरेको कार्यदलले भने एक साता लकडाउन थप गर्न सुझाव दिएको छ । त्यही सुझावका आधारमा मन्त्रिपरिषदले निर्णय गर्नेछ ।

समितिका अनुसार एक साता लकडाउन थप गर्नेसँगै तीन वटा विकल्पमा छलफल भइरहेको छ ।

विकल्प नम्बर १ : लकडाउनलाई निरन्तरता दिने । अहिलेलाई एक साता थप गर्ने ।

विकल्प नम्बर २ : उपत्यका हाललाई कोरोना संक्रमितमुक्त भएकाले उपत्यकालाई खुकुलो बनाउने । सावधानी अपनाएर पसल सञ्चालन गर्ने दिने । यातायात र विद्यालय नखोल्ने । सरकारी कार्यालय खोल्ने । उपत्यका पूर्णतया सील गर्ने ।

विकल्प नम्बर ३ : संक्रमण देखिएका र नदेखिएका क्षेत्रहरु छुट्याएर उद्योग धन्दा तथा कलकारखाना खोल्नेगरी लकडाउन खुकुलो बनाउने । प्रदेश नम्बर १ मा लकडाउनलाई निरन्तरता दिने । बाँकी प्रदेशमा उपत्यकाजस्तै सावधानी अपनाएर लकडाउन खुकुलो बनाउने ।

उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गतेसम्म स्थगित राख्ने निर्णय गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना संक्रमणको अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेकाले लकडाउनलाई केही खुकुलो बनाउनुपर्ने माग उठिरहेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पनि लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव पठाएको थियो ।

सरकारले पहिलोपटक चैत ११ गते र त्यसपछि चैत १८, चैत २५ गते सात–सात दिन र वैशाख ३ गतेदेखि लागू हुने गरी १२ दिन लकडाउन थप गर्दै आएको थियो ।

प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]