बैशाख २७, २०८२ शनिबार

नेकपामा तीनजना अध्यक्ष राख्ने प्रस्ताव

काठमाडौं । ‘अब माधव नेपाल सहित तीनजना अध्यक्ष बनाउनुपर्छ’– नेकपाका नेता तथा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलको प्रस्ताव छ । पार्टीभित्र असहज अवस्था उत्पन्न भएपछि काठमाडौंमा आएर सक्रिय रहेका शंकरको प्रस्ताव छ– ‘माधव कमरेडको कोही पनि मुख्यमन्त्री छैनन् भन्ने गुनासो हो भने म मुख्यमन्त्री पदबाट राजीनामा दिन्छु, उहाँले छानेकालाई मुख्यमन्त्री बनाउँ ।’

आफ्नो बहुमतको सरकारलाई पूरा अवधी अर्थात् पाँच वर्ष चल्न नदिने कालीदास शैलीमा नेकपाकै केही नेताहरु मैदानमा उत्रिएको बेला शंकरले यस्तो प्रस्ताव राखेका हुन् । उच्च राजनीतिक स्रोत अनुसार विभिन्न मध्यमार्गी प्रस्तावहरु आएका छन्, त्यस उपर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पक्ष र माधवकुमार नेपालको पक्षबीच विभिन्न तहमा वार्ता भइरहेको छ । स्रोत अनुसार यस्तो वार्ता प्रधानमन्त्री निवासमा नेता नेपालको कोटेश्वर स्थित निवासमा पनि भएको छ ।

स्रोत अनुसार मन्त्रिमण्डल पुर्नगठन गरेर माधव नेपाल पक्षलाई पनि थप हिस्सा दिने प्रस्ताव पनि छलफलको क्रममा आएको बुझिन्छ ।

सरकार गिराउने तहमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका अन्य नेताहरुलाई उकासिरहेको समाचार आइरहेको बेला अहिले सरकार गिराउने कुनै योजना नभएको, प्रधानमन्त्री फेर्ने कुनै योजना नरहेको माधव नेपाल पक्षका नेताहरुले बताएका छन् । उनीहरुको भनाई छ( विवाद भएको हो, असमझदारी भएको हो, तर जनताले पाँच वर्षका लागि चुनेको सरकार गिराउने काम नेकपा भित्रबाट हुने छैन ।

उता, अध्यक्ष प्रचण्डको पक्षबाट पनि विभिन्न किसिमले वार्ता भइरहेको बुझिएको छ । स्रोत अनुसार प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा निरन्तर सक्रिय छन् । वर्षमान र जनार्दनले देशभरीका पूर्व माओवादी कार्यकर्ताहरुसँग सम्पर्क गरेर एकढिका हुन भनेका छन् । वर्षमान र जनार्दन निरन्तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा छन् । दुई नेताले काठमाडौंमा रहेका पूर्व माओवादीहरुको भेला आयोजना गरिरहेको बुझिएको छ ।

स्रोत अनुसार वर्षमान र जनार्दनले पूर्व माओवादी तर्फका युवा, विद्यार्थी, महिला तथा बुद्धिजीवी अगुवाहरुको भेला राखेर अहिलेको परिस्थितिमा विशेष रुपमा सक्रिय हुन निर्देशन दिएका छन् ।

पार्टीमा उत्पन्न असहज परिस्थितिलाई समाधानतर्फ लैजान विभिन्न कोणबाट प्रयास हुने क्रममा केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल बीच पनि आपसी संवाद भएको बुझिएको छ ।

प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]