राहत सहयोग गर्न झापामा ‘एकका लागि एक’ अभियानको शुभारम्भ
बिर्तामोड । लकडाउनले समस्यामा परेका परिवारलाई खाद्य सामग्री सहयोग गर्न झापामा ‘एकका लागि एक’ अभियान मार्फत राहत वितरण शुभारम्भ गरिएको छ । शनिबार बिर्तामोड–२ स्थित चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणधिन भवनमा एक कार्यक्रमका विच झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कुपन वितरण गरेर शुभारम्भ गरेका छन् ।

प्रमुख अतिथि रानाले कोरोना कहरको कारण देशनै लकडाउन भएपछि समग्र क्षेत्र प्रभावित बनिरहेको अबस्थामा अझ दैनिक श्रम गरेर खाने विपन्न परिवारलाई आज मजदुर दिवसको दिनबाट राहत वितरण गर्न सुरु गरेकोमा अभियन्ताहरु र सहयोगी दाताहरुमा धन्यवाद दिएका छन् । हजारौं परिवारलाई सहयोग गर्ने उदेश्यले सुरु भएको अभियानले सफलता प्राप्त गर्न सकोस् धेरै धेरै परिवारका सदस्यले भोकै रहन नपरोस भनेर गरेको यो सतकर्मले सरकारलाई पनि सघाउ पुगेको बताए ।
एकका लागि एक अभियानमा १७ भन्दा बढी संघ संस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । हरेक संस्थाले सहयोग बापतको रकम जम्मा गरेका छन्, त्यसैगरी देश बिदेशमा रहने नेपालीहरुले पनि सहयोग रकम पठाएका छन् । हाल सम्ममा १२ सय परिवारका लागि राहत जुटिसकेको बताइएको छ । सो बापत १७ लाख रुपैया जम्मा भएको र अरु ७ लाख सहयोगको बचन प्राप्त भएको छ ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रखुम कृष्णप्रसाद कोईराला, बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, लायन्स क्लव अफ सुरुंगाका संस्थापक अध्यक्ष लिला चिमरिया, रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी लगायतको उपस्थिती रहेको थियो ।
अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार (ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि), कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, भए खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगारीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको अभियानका संयोजक गिरीले जानकारी दिए ।