सांसदसहित झापाको सीमा क्षेत्रको अनुगमन शुरु, सुरक्षा पोष्टमा आधारभूत आवश्यकता पुरा नभएको ठहर
झापा । जिल्ला समन्वय समिति झापाको अनुगमन टोलीले शुक्रबार मेचीनगर क्षेत्रभित्रका क्वारेन्टाइनमा बस्नेहरुकोे अवस्था र सीमा क्षेत्रमा रहेका अस्थायी प्रहरी पोस्टको स्थलगत अनुगमन गरेको छ ।

प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यसहित भएको अनुगमनका क्रममा अधिकांश अस्थायी प्रहरी पोष्टमा बस्नका लागि उचित आवास, पिउनका लागि स्वच्छ र सफा पानी , विद्युत र सञ्चारको समस्या सुरक्षाकर्मीले व्यहोर्नुपर्ने अनुगमन टोलीले जनाएको छ ।
समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको नेतृत्वमा रहेको सुरक्षा निकायका उच्च अधिकारी सहभागी टोलीले मेचीनगर—८ स्थित आदर्श माध्यमिक विद्यालयमा सञ्चालनमा ल्याएको विशेष क्वारेन्टाइनको स्थलगत अवलोकन गरी जानकारी लिएको थियो ।
मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले विशेष कवारेन्टाइन सञ्चालनमा ल्याउनुपर्ने कारणका बारेमा टोलीलाई जानकारी गराएकी छन् । उनले कुलतबाट छुटाउने नयाँ जुक्तिका रुपमा यो उपाय शुरु गरिएको अनुगमन टोलीलाई जानकारी दिइन् । उक्त क्वारेन्टाइनमा झापासहित मोेरङ, इलाम र सुनसरीका ५ दर्जनबढि लागूऔषध प्रयोगकर्तालाई राखिएकोे समेत जानकारी गराएकी छन् ।
पुनःस्थापना केन्द्रका सञ्चालकहरुले उनीहरुलाई परामर्श दिने, स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने र क्वारेन्टाइनमा कडा सुरक्षाका साथ राखिएका उनीहरुको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने उपप्रमुख उप्रेतीको भनाई थियो ।
अनुगमन टोलीलाई क्वारेन्टाइनका बारेमा जानकारी दिदैं सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद सापकोटाले सामाजिक दुरी कायम गरेर उनीहरुलाई राखिएको बताए । उनले आफ्नो कमाण्डमा नौ जना सुरक्षाकर्मी २४ सै घण्टा क्वारेन्टाइन सुरक्षार्थ खटिने गरेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार लागूऔषध प्रयोग गरेको सूूचना पाए वा प्र्रहरीलाई शंका लागे घरबाटै नियन्त्रणमा लिने गरिरएको छ ।
यसैगरी टोलीले झापाको मेचीनगर र इलामको रोङ गाउपालिकाको उत्तरी सिमाक्षेत्र भद्रपुर नगरपालिकासँग सीमा जोडिएको दक्षिण क्षेत्रसम्मको ४४ किलो मिटरमा खडा गरिएका अस्थायी प्रहरी पोस्टका बारेमा समेत स्थलगत निरीक्षण गदैं त्यसका बारेमा जानकारी लिएको थियो ।
नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनका अवधिमा खुला सीमाका कारण अबैधरुपमा मानिसको आवतजावत नहोस भन्ने उद्घेश्यले सीमाक्षेत्रमा सशस्त्र प्रहरीका २५ वटा अस्थायी पोष्ट खडा गरिएको छ । केहि पोष्टमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोली बस्ने गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।
हरेक पोष्टमा बस्नको लागि आवास, खाना, विद्युत, पिउने पानीसहित सञ्चारको समस्या रहेको टोलीलाई अवगत गराइएको थियो । प्रहरीको उपस्थिती भएपछि अपराधिक घटनामा कमि तथा खुला सीमानाका कारण मानिसले अनावश्यक रुपमा आवतजावत गर्ने क्रम घटेपनि पानी र हावाहुण्डरीका कारण सुरक्षाकर्मीले निक्कै कष्टकर जीवन बिताउनु परेको टोलीलाई जानकारी गराइएको थियो । सशस्त्र प्रहरीको अस्थायी पोष्टमा सिनियर र जुनियर अधिकृतको कमाण्ड रहने प्रहरीले जनाएको छ ।
अनुगमन पश्चात जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले सवै पालिकासँग सहकार्य र समन्वय गरी विशेष क्वारेनटाइन र अस्थायी प्रहरी पोष्टको समस्या समाधानका लागि दिर्घकालिन उपाय खोज्ने आश्वासन दिए ।
टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख मीना पराजुली, १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नेकपा १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, नेकपा झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, नेपाली काँग्रेसका झापा सभापति उद्घव थापा, राप्रपाका झापा जिल्ला उपाध्यक्ष कमलप्रसाद खरेल, राजपाका झापा जिल्ला अध्यक्ष अनुतसिहं राजवंशी, नेकपा मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकाल, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल, प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, जिल्ला समन्वय समितिका नायव सुब्बा भानु भट्टराईलगायतको सहभागिता थियो ।