एक महिनापछि खुल्यो पूर्वी नाका काँकरभिट्टा
भद्रपुर । भारतको पश्चिम बङ्गाल सरकारले बन्द गरेको पूर्वी नेपालको काँकडभिट्टा–रानीगञ्ज (पानीटंयाकी) नाका आजदेखि खुलेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बङ्गाल सरकारले चैत २५ गतेदेखि काँकडभिट्टा–रानीगञ्ज नाका बन्द गराएको थियो ।

बङ्गाल सरकारले करिब एक महिना पछि नाका सुचारु गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए । ‘बङ्गाल सरकारले नेपाललाई चाहिने अतिआवश्यक सामान मात्र पठाउने सर्तमा नाका सुचारु गरेको हो,’ डिएसपी पोखरेलले भने, ‘भारतबाट आउने अतिआवश्यक वस्तु मात्र आयात हुन्छ, नेपालबाट भारततर्फ कुनै पनि वस्तु निर्यात नहुने सर्त बङ्गाल सरकारले राखेको छ ।’ शनिवार दिउँसोदेखि नै काँकडभिट्टा नाकाबाट अतिआवश्यक वस्तु बोकेका ढुवानीका सवारीसाधन भारतबाट आउन थालिसकेको छ ।
कोरोना त्रासकै कारण बङ्गाल सरकारले एकतर्फी नाका सञ्चालनमा ल्याएको हो । ढुवानीका सवारीसाधन बाहेक अन्य सवारीसाधन र मानिस आवतजावत गर्न नपाइने उनले बताए । कोरोना भाइरस सङ्क्रमणलाई लक्षित गरी नेपाल–भारत सरकारबिच अतिआवश्यक वस्तु नेपाल आयातमा कुनै रोक नलगाई निर्बाध रूपमा भित्रिन दिइने सहमति भएको थियो । सहमतिमा काँकडभिट्टा रानीगञ्ज नाका पनि परेका थिए ।
तर, केन्द्रीय सरकारको निर्णय विपरीत बङ्गाल सरकारले एकलौटी निर्णय गर्दै चैत २५ गतेबाट कुनै सवारीसाधन यस नाकाबाट प्रवेश गर्न दिएन । जस कारण पश्चिम बङ्गाल हुँदै झापा जिल्लाबाट भित्रिने अतिआवश्यक वस्तुहरू विहारको जोगवनी–विराटनगर नाका भएर भित्रिरहेका थिए । यता काँकडभिट्टा नाका ठप्प हुँदा मेची भन्सार कार्यालयको राजश्वमा समेत भारी गिरावट आएको छ ।
नेपालको तेस्रो ठुलो भन्सारको रूपमा परिचित मेची भन्सारमा पछिल्लो समय कोइला लगायतका अन्य वस्तु आउन छोडेपछि लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन नसकेको मेची प्रमुख भन्सार अधिकृत ध्रुवबहादुर विश्वकर्माले बताए । करोडौँ राजश्व उठाउँदै आएको भन्सारले कोरोना सङ्क्रमणबाट लकडाउन भएपछि ठुलो राजश्व गुमाउनु परेको उनको भनाई छ । यो नाकाबाट भारत, बंगालदेश र भुटान लगायतको देशहरूबाट कोइला, इन्धन, खाद्यान्न, कपडा, लगायत कच्चा पदार्थ भित्रिने गरेका छन् ।