बैशाख २५, २०८१ मंगलबार

मेची क्याम्पसमा पनि सय बेडको क्वारेन्टाइन

झापा । भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई ल्याउन साथ राख्नका लागि झापामा छुट्टै क्वारेन्टाइन बनाइएको छ । जिल्ला बाहिरका बासिन्दालाई स्थानीय पालिकाहरुले राख्न नमान्ने हुँदा उनीहरुका लागि मेची बहुमुखी क्याम्पसमा छुट्टै क्वारेन्टाइन निर्माण गरिएको हो ।

कोरोना सङ्क्रमण रोकथाम जिल्ला अनुगमन तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार मेची बहुमुखी क्याम्पस भद्रपुरको विज्ञान संकायको भवनमा क्वारेन्टाइन निर्माण भइरहेको छ । उनले भारतीय सीमा नजिक रहेका नेपालीलाई नेपाल आउने अनुमति प्राप्त हुन साथ त्यही ल्याएर राखिने बताए ।

नेपाली सेनाले व्यवस्थापन गर्ने गरी तयार गरिएको क्वारेन्टाइनमा १०० वटा बेड तयार भइसकेको उनले बताए । “स्थानीय पालिकाहरुले बाहिरका मान्छे राख्न सक्दैनौँ भन्छन्”, उनले भने, “सङ्क्रमित छ या छैन जाँच नगरी टाढा पठाउन मिल्दैन । त्यही भएर छुट्टै राख्न क्वारेन्टाइन निर्माण गरिरहेका छौँ ।”

तीन सय बेडको क्वारेन्टाइन तत्काल निर्माण गरिने र आवश्यक परे थप बेडको समेत व्यवस्था गरिने उनले बताए । यस अघि सेनाकै व्यवस्थापनमा चन्द्रगढीस्थित कलबलगुडीमा ९२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जसमा जिल्ला भन्दा बाहिरका व्यक्तिहरुलाई राखिएको छ ।

क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने कम्बल, झुल, म्याटे«स, तन्ना, माक्सलगायतका दुई दुई सयका दरले सामग्री नेपाल रेडक्रस सोसाइटी झापाले प्रदान गरेको छ । सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालले आजै प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । झापाका १५ वटा पालिकामा स्कूल, सामुदायिक वन, स्वास्थ्य चौकीलगायतमा ७९२ जना अटाउने २७ वटा क्वारेन्टाइन छन् ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]