जेष्ठ २६, २०८२ आईतबार

सशस्त्र प्रहरीको टोली कालापानी प्रस्थान

लोकेन्द्रप्रसाद जोशी

दार्चुला, वैशाख ३१ गते । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ ।

बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी दार्चुला प्रस्थान गरेका हुन् ।

दार्चुलाको कालापानी भन्दा १३ किलोमिटर वर व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापनाका लागि ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु दार्चुला सदरमुकाम खलंगामा तयारी अवस्थामा राखिएको छ । गत मंसिर महिनामा नेपाल सरकारले छाङरुमा बिओपी राख्ने निर्णय गरे पनि हिमपात र लकडाउनका कारण ढिलाइ भएको थियो । छाङरुमा भौतिक संरचना निर्माण गर्न समय लाग्ने भएकोले तत्काल गागास्थित स्थानीयको घर भाडामा लिएर बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ५० हेडक्वाटर दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले बताउनुभयो ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसंग सीमाना जोड्ने गरी ९५ किलोमिटर सडक निर्माण गरेपछि सरकारले तत्काल कालापानी क्षेत्रमा सशस्त्र खटाउने निर्णय कार्यान्वयन गरेको जनाएको छ ।

सशस्त्रसंगै उक्त हेलिकोप्टरमा सई हर्कसिह महताको नेतृत्वमा ९ जना नेपाल प्रहरी पनि छाङरु जाने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर बिष्टले बताउनुभयो ।

प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]