चैत्र १६, २०८० शुक्रबार

नेपाली भूमि अतिक्रमण गरेकोमा भारतभित्रै चर्को विरोध

काठमाडौं । भारतीय पक्षले लिम्पियाधुरा, कालापानी तथा लिपुलेकको नेपाली भूमिमा गरेको अतिक्रमणका विषयमा भारत सरकारको भारतभित्रै विरोध हुन थालेको छ । विरोध गर्नेमा भारतीय कुटनीतिक क्षेत्रका विज्ञ देखि नेपाल भारत मामिलाका जानकारहरु समेत देखिन थालेका छन् ।

सीमा विवाद सल्टाउन नेपालले वार्ताका लागि औपचारिक÷अनौपचारिक रुपमा दुई–दुई पटक वार्ताको मिति प्रस्ताव गर्दा समेत भारतले आनाकानी गरेको र कोरोना कारण देखाउदै अहिले पन्छिन खोजेपछि भारत सरकारको यो कदम अनुपयुक्त रहेको भन्दै भारत भित्रै उसको विरोध हुन थालेको हो ।

भारतले २०१९ नोभेम्बर २ (कात्तिक १६ मा) मा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोपट्टि पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात् उत्पन्न समस्या समाधान नभइरहेका बेला ठीक ६ महिनापछि २६ वैशाखमा नेपालसँग कुनै छलफल बिनै एकतर्फी चीन जोड्ने सडकमार्ग बनाएपछि नेपाली पक्ष आ क्रोशित छ ।

सरकारले यस विषयमा भारतलाई कुटनीतिक नोट पठाएर विरोध जनाउँदै तत्काल यस सम्बन्धमा कुटनीतिक र राजनीतिक तहमा वार्ताको लागि भारतसँग प्रस्ताव गरिरहेको छ । तर भारत सरकारले अटेर गरिरहेपछि नेपालभित्र भारतको मिचाह प्रवृत्तिको चर्को विरोध भईरहदा भारतीयहरुले समेत मोदी सरकारको कदमको आलोचना थालेका हुन् ।

कुनै बेला भारतको नेपाल नीतिका निर्माता ठानिएका विवादास्पद व्यक्ति जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक एस डी मुनिसमेत अहिले भारतीय सरकारले नेपाल प्रति देखाएको रवैयासँग सन्तुष्ट देखिएका छैनन् । भारतले नेपालप्रति हेपाहा व्यवहार गरेको अहिले बताउन थालेका छन् ।

भारतको एक टेलिभिजन च्यानलसँग बुधबार कुरा गर्दै प्राध्यापक एसडी मुनिले नेपालले विवादित विषयमा वार्ता गरौं भनेर बारम्बार प्रस्ताव गरेको तर भारतले बेबास्ता गर्दै आएकोले दुई देशका बीचको सम्बन्धमा समस्या आएको बताएका छन् । भारतको यस्तो ब्यवहारका कारण नेपालले अपमानित महसुस गरेकोले नेपालभित्र भारतको विरोध चर्को बन्दै जान थालेको बताएका छन् । उनले यसले भारतलाई नै दीर्घकालिन रुपमा असर गर्ने भन्दै नेपाल सरकारले कुटनीतिक वार्ताका लागि राखेको प्रस्तावमा सकारात्मक भन्दै तत्काल वार्तामा बस्नु पर्ने आग्रह समेत गरेका छन् ।

भारतीय टेलिभिजन च्यानल स्वराज एक्सप्रेससंग कुरा गर्दै प्राध्यापक मुनिले भने, –‘नेपालले अपमानित गरेको कुरा सत्य हो । कालापानी क्षेत्रका सिमा विवाद मात्र होइन, अरु मुद्दामा पनि भारतसंग नेपाल धेरै बेखुसी छ ।’ उनले भारतको डिमोनिटाइजिंग नीतिका कारण नेपालको धेरै पैसा अड्केको र त्यसमा भारतले हालसम्म कुनै निर्णय नदिएको, इपिजीको प्रतिवेदनमा भारतले कुरा गर्न नचाहेकोजस्ता मुद्दाहरुले नेपाल भारतसँग धेरै बेखुसी रहेको बताए ।

भारतकै विदेश मामिला विज्ञ मनोज जोशीले बोर्डरको मामलामा भारतले कुरा गर्न नचाहेको भनी नेपाली पक्षले भनिरहेको कुरा सही भएको भन्दै भारतले नेपालले आग्रह गरेको वार्ताको प्रस्ताव अस्वीकार गरिरहेको बताए । उनले भारत सरकारले सन् २०१५ मा लगाएको आर्थिक नाकाबन्दीपछि दुईदेश बीच कटुता बढेको विश्लेषण गर्दै छिमेकी देश नेपाललाई बेखुसी बनाउनु भारतको मुर्खता भनी टिप्पणी समेत गरेका छन् ।

भारतीय पत्रकार वेदप्रताप बैदिकले पनि भारतीय नोकरशाहीका कारण यस्तो अवस्था आएको भन्दै मोदी सरकारमाथि नेपालसंगको सुमधुर सम्बन्ध बिगारेको आरोप लगाए । उनले नेपाल भारतबीचको सम्बन्ध सुधार्न तत्काल नेपाली पक्षले आग्रह गरेको वार्तामा भारतीय पक्ष बस्न तयार हुनुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार  १० : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]