बैशाख २५, २०८१ मंगलबार

सीमामा नेपाली ल्याएर छाड्न थालिएपछि झापामा हाइअलर्ट

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २ गते । भारतले त्यहाँ रहेका नेपालीलाई सीमासम्म ल्याएर छाडेको र उनीहरू नेपाल आउन चाहेको भन्ने खबरहरू सार्वजनिक भएपछि झापामा उनीहरूलाई ल्याएर क्वारेन्टाइनमा राख्नका लागि प्रयास शुरु भएको छ । सरकारले निर्णय गर्नसाथ ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले त्यसअनुसारको तयारी शुरु गरिएकाे बताइन्छ ।

जिल्ला समन्वय समिति, झापाका प्रमुख एवम् जिल्लास्तरीय कोरोना सङ्क्रमण रोकथामका लागि बनाइएको समितिका संयोजक सोम पोर्तेलकाअनुसार मेची क्याम्पससहित विभिन्न ठाउँमा धमाधम क्वारेन्टाइन बनाउने काम शुरु भएको छ । ‘झापा जिल्लाको भए जुन पालिकाको बासिन्दा हो, त्यही क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने र बाहिर जिल्लाको भए जिल्लास्तरीय क्वारेन्टाइनमा राख्ने तयारी भएको छ’, उहाँले भन्नुभयो ।

यसका लागि सीमाक्षेत्रमा भएका नगरपालिका तथा गाँउपालिकाहरूसँग विभिन्न चरणमा छलफल पनि भएको उहाँले जानकारी दिनुभयो । पूर्वी नाका मेचीनगर र अर्को ठुलो नाका भद्रपुर नगरपालिकाले क्वारेन्टाइन थप गर्न थालेका छन् । सीमाक्षेत्रमा रहेका पालिकारूले कम्तीमा पनि एक सय बेडको क्वारेन्टाइन बनाएको र भारतबाट आउने नेपालीलाई यहाँ राख्ने तयारी भएको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज ढकालका अनुसार आवश्यक बन्दोबस्ती र व्यवस्थापनका लागि श्रोत साधन जुटाउने कार्य पनि शुरु भएको छ । विभिन्न माध्यमबाट सहयोग जुटाएर समयमा नै बन्दाेबस्त मिलाउने कार्य जिल्लामा शुरु भएको ढकालले बताउनुभएको छ छ । सीमामा कति सङ्ख्यामा नेपाली अड्केका छन्, त्योअनुसार तयार गर्नुपर्ने अवस्था देखिन्छ, उहाँले भन्नुभयो ।

स्थानीय तहहरूले शुरुवातमा बनाएका क्वारेन्टाइनहरू खाली रहेका छन् । विदेशबाट आएका नेपालीले क्वारेन्टाइन अवधि पूरा गरेर घर गएपछि अधिकांश क्वारेन्टाइनहरू खाली रहेको बताइएकाे छ । 

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  १२ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]