चैत्र १५, २०८० बिहीबार

कालापानी क्षेत्रमा बढाइयो सुरक्षा, स्थानीय हर्षित

दार्चुला । दार्चुलाको लेकमदेखि व्यासको तिङ्करसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्ट राखी सीमाको निगरानी बढाइएको छ । भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको वडा नं ३ लाली रत्यौडादेखि भारत र चीनको सीमा जोडिने व्यास गाउँपालिका वडा नं १ को तिङ्करसम्म ती दुई सुरक्षा निकाय कार्यरत रहेका छन् ।

अहिले सशस्त्र प्रहरीको निगरानीमा पूरै सीमा परेको छ । यसअघि सदरमुकाम खलङ्गामा रहेको नेपाल नम्बर ५० गुल्मबाट निरीक्षण हुँदै आएकामा अहिले अब अस्थायी तथा स्थायी बोर्डर आउट पोष्ट र पोष्ट नै राखेर सीमाको निगरानी बढाइएको हो ।

विगतमा लेकमदेखि व्यासको तिङ्करसम्म नेपाल प्रहरीको मात्रै उपस्थिति भएको अवस्थामा अहिले सशस्त्र प्रहरीको पोष्ट स्थापना गरिएको छ । भारत र चीनसँगको सीमा जोडिने तिङ्करमाथि सशस्त्र प्रहरीले बिओपी राख्ने तयारी गरेपछि सीमा नेपाली सुरक्षा बलियो बन्दै गएको छ ।

खलङ्गामा सशस्त्र प्रहरीको गुल्म छ । बन्दाबन्दी जारी रहँदा पनि सीमामा निगरानी गर्न लेकम गाउँपालिकाको लाली, रत्यौडा, मालिकार्जुन गाउँपालिकाको बाकु, उकु, डिन्सी, महाकाली नगरपालिकाको काकडा, व्यासको स्याकु र डोकटमा सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका प्रहरी निरीक्षक प्रकाश चन्दले जानकारी दिनुभयो । यो बाहेक सशस्त्र प्रहरीले महाकाली नगरपालिकाको खेट्टेबगर र दुहुँको कालागाडमा चेकपोष्टमार्फत निगरानी गर्ने गरेको छ ।

व्यास गाउँपालिका–१ त्रिदेशीय सामरिक महत्वको क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी भएको छ । गत वैशाख ३१ गते छाङ्रुको गागामा बोर्डर आउट पोष्ट स्थापना गरेलगत्तै त्रिदेशीय क्षेत्रमा गुल्म नै राख्ने गरी तयारी अघि बढेको हो । गुल्ममा १६० जना सशस्त्र प्रहरी खटिनेछन् ।

व्यासको गागामा सशस्त्र प्रहरीलाई प्राप्त १५ रोपनी जग्गामा भवन बनाउने सशस्त्र प्रहरीले निरीक्षण गरी डिजाइन बनाउन थालेको छ ।

सशस्त्र प्रहरीलाई प्राप्त भएको जग्गामा सशस्त्र प्रहरीका इञ्जिनीयर प्रहरी नायब उपरीक्षक मिलनमान मास्केसहितको टोलीले स्थलगत निरीक्षण गरी भवनको डिजाइन लागत तयार गर्न लागेका हुन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नारायणबाबु थापाले व्यासको गागामा सशस्त्र प्रहरीको स्थायी संरचना निर्माणको काम तत्काल अघि बढ्ने जानकारी दिनुभयो । “बजेट प्राप्त भइसकेको छ”, उहाँले भन्नुभयो, “डिजाइन स्टिमेट तयार गरी बोलपत्र आह्वान छिट्टै हुन्छ ।”

सो स्थानमा स्थापना हुने सशस्त्र प्रहरीको गुल्मले कालापानी, लिपुलेक, अपि नाम्पा संरक्षण क्षेत्रका वन्यजन्तु, अपिहिमाल, कैलाश मानसरोवरको प्रवेशद्वारलगायतमा सहयोग पुग्ने बताइएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षाका लागि यो क्षेत्रमा सशस्त्र प्रहरीको मजबुत उपस्थिति गराउने सरकारको तयारी छ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले छिटो गुल्म स्थापना गर्ने तयारी गरिएको र यसबाट सीमा रक्षा, आपराधिक क्रियाकलाप नियन्त्रण तथा सर्वसाधारणको शान्ति सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने जानकारी दिनुभयो ।

गृह मन्त्रालयले बहुवर्षीय योजनाअनुरुप संरचना निर्माणका लागि रु ११ करोड रकम विनियोजन गरिसकिएको जनाइएको छ । भवन आधुनिक प्रविधियुक्त र यहाँको वातावरण सुहाउँदो बन्नेछ । बाह्रै महिना चिसो हुने र जाडोको समयमा अत्यधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिने सशस्त्र प्रहरीले जनाएको छ । ३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ । ग्यास हिटिङसहितको भवन निर्माण गरिने छ ।

व्यासमा गागामा गुल्म राख्नेबित्तिकै, कौवा, चीनसँग सीमा जोडिएको तिङ्कर क्षेत्रका छियालेकलगायत क्षेत्रमा बिओपी बनाउने तयारी गरिएको छ ।

यस्तै सशस्त्र प्रहरीले दार्चुलाको व्यास गाउँपालिका वडा नं २ को दुम्लिङ, महाकाली नगरपालिका–९ को दत्तु, मालिकार्जुन–७ को जोलजीवी, लेकम–३ को लालीलगायतका क्षेत्रमा बोर्डर आउट पोष्ट राख्न प्रस्ताव पठाइसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति डम्मरबहादुर विष्टले जानकारी दिनुभयो । सीमा क्षेत्रको सुरक्षाको कार्यादेश पाएको सशस्त्रले विगतमा सदरमुकाम खलङ्गामा रहेको गुल्मबाट निरीक्षण हुँदै आएको थियो ।

सन् १९६२ मा भारत–चीनसँगको द्वन्द्वका बेला यहाँको कालापानीलगायत क्षेत्रमा भारतले सेना प्रवेश गराएको बताइएको छ । भारतले महाकाली नदी किनारकिनारै सडक बनाएर गुञ्जी, कालापानी, हुँदै लिपुभञ्जाङ पु¥याएको छ । निर्माणाधीन दार्चुला– तिङ्कर सडकलाई नेपाली सेनामार्फत बनाउन जिम्मेवारी दिइएको छ ।

सरकारले गत वैशाख १४ गते दार्चुला तिङ्कर सडकको ८७ किलोमिटर सडक नेपाली सेनालाई बनाउन जिम्मा दिने निर्णय गरेको हो । आर्थिक वर्ष २०६६÷६७ बाट दार्चुला तिङ्कर सडक निर्माण शुरु गरेको भए पनि एक दशक बढी हुँदा पनि सडकले गति लिन नसकेपछि सो सडकको बाँकी काम सेनालाई दिने निर्णय गरेको हो । हाल सो सडकको ४० किलोमिटर मात्र ट्र्याक खुलाइएको छ ।

“राज्यको उपस्थिति अहिलेका लागि ठूलो हो, सीमा क्षेत्रमा सशस्त्र मात्रै होइन, प्रहरीका दुई समूहसमेत पु¥याएकाले आपराधिक गतिविधि नियन्त्रण, जनताको सुरक्षा र सीमा रक्षाका लागि दूरगामी र ऐतिहासिक कदम भएको छ”, प्रजिअ पौडेलले बताउनुभयो ।

अहिले तिङ्करको छियालेकमा प्रहरी नायब निरीक्षककको नेतृत्वमा १२ तथा छाङ्रुको नीतिकुण्डमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ९ प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

प्रहरीको लेकम–३ लाली, मालिकार्जुनको जौलजीवि, महाकाली नगरपालिकाको दत्तु, धाप, दुहुँको ब्रह्मदेव, धारी र हिकिलामा प्रहरी चौकी रहेको छ । यसैगरी व्यासको हुतीमा इलाका प्रहरी कार्यालय, तिगरमा अस्थायी पोष्ट, सुनसेरा, दुम्लीङ, छांगरु तथा तिङ्करमा चौकी रहेको उहाँले बताउनुभयो ।

व्यसमा सशस्त्र प्रहरी पुगेपछि स्थानीय भने औधि खुसी भएका छन् । सरकारको नीति तथा कार्यक्रममा भारतले मिचेको जग्गा समेटेर नक्सा सार्वजानिक गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार  ५ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]