आजबाट झापामा ५५ वर्षमाथिका नागरिकलाई खोप लगाइदैं
बिर्तामोड । झापामा आजबाट ५५ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइदैछ । स्वास्थ्य कार्यालय झापाले ५५ वर्ष र त्यसभन्दा माथि उमेर भएका नागरिकहरुलाई खोप लगाउने जानकारी दिएको छ ।
झापाको १५ वटै स्थानीय तहका नागरिकले भेरोसेल खोप लगाउन पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाउन सम्पूर्ण तयारी पुरा गरिएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै सरकारी अस्पताल, स्वास्थ्य केन्द्र र खोप केन्द्रहरुमा सो समूहलाई खोप लगाइदैछ ।
स्थानीय तहहरुले सूचना जारी गर्दै खोप लगाइने स्थान बारे जानकारी गराएका छन् । साउन १२ गतेदेखि १५ गतेसम्म भेरोेसेलको पहिलो डोज खोप लगाइने बताइएको छ । त्यसपछि साउन २० बाट ५० वर्षमाथिका नागरिकलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाले सबै पालिकाहरुलाई परिपत्र गर्दै ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोन्सन एण्ड जोन्सन खोप लगाइने बताएको छ । सोही अनुसार व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरिएको छ । स्वास्थ्य कार्यालयले पत्र लेख्दै भनेको छ, ५० देखि ५४ वर्ष बाहेकका नागरिकलाई मात्र भेरोसेल खोल लगाउनु ।
बिर्तामोड नगरपालिकाले सूचना जारी गर्दै खोप लगाइने स्थान सार्वजनिक गरेको छ । बिर्तामोडले विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने जनाएको छ । १२ र १३ गते वडा नं. १,२ को मोहनमाया मावि रामचोक, वडा नं.३,४ को महेन्द्र रत्न मावि विर्ताबजार, वडा नंं.५ को देवी मावि, वडा नं. ६ को सरस्वति मावि, वडा नं.७,८,९ को दुर्गा मावि र वडा नं. १० को महेन्द्र ज्योति माविमा खोप लगाउने कार्यक्रम तय गरिएको छ । यस्तै, प्राध्यापक, शिक्षक ,कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक,विदेश जाने नेपाली नागरिकहरुका लागि १४ र १५ गते महेन्द्र रत्न मावि र देवी माविमा खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले जानकारी दिए ।