बिर्तामोडमा पहिलो दिन ३२ सय जनाले लगाए कोभिड विरुद्धको खोप
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा मंगलबार ३ हजार २ सय जनाले कोरोना विरुद्वको भेरोसेल खोप लगाएका छन् । ५५ वर्ष र सो भन्दा माथिको उमेर समुहलाई पहिलो डोज खोप लगाइएको छ । खोप कार्यक्रम नगरप्रमुख धुर्वकुमार शिवाकोटीले उद्घाटन गरेका छन् ।
नगरप्रमुख शिवाकोटीले वडा नम्बर ५ को खोप केन्द्र देवी माध्यमिक विद्यालयमा पुगेर पहिलो डोज खोप ‘भेरोसेल’ लगाएर उद्घाटन गरेका छन् ।

बिर्तामोड नगरपालिकाले ६ स्थानमा खोप केन्द्र तोकेर खोप कार्यक्रम सञ्चालन गरेको छ । वडा नम्बर १ र २ मा मोहनमाया माध्यमिक विद्यालय, वडा नम्बर ३ र ४ मा महेन्द्र रत्न माध्यमिक विद्यालय, वडा नम्बर ५ मा देवी माध्यमिक विद्यालय, वडा नम्बर ६ मा सरस्वती माध्यमिक विद्यालय, वडा नम्बर ७,८,९मा दुर्गा माध्यमिक विद्यालय र वडा नम्बर १० मा महेन्द्र ज्योति माध्यमिक विद्यालय रहेका छन् । तोकिएका केन्द्रहरुमा बुधबार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइने स्वास्थ्य शाखाका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिए ।
नगरपालिकाले खोप लगाउन आउनेहरुको लागि बिर्तामोड नगरपालिका ठेगाना खुल्ने नागरिकता प्रमाण पत्र,मतदाता नामावली,परिचय पत्र वा बसाई सराईको प्रमाण पत्र अनिवार्य गरेको छ ।
नगरपालिकाले विश्वविद्यालय,विद्यालयका प्राध्यापक,शिक्षक,कर्मचारी,सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक,खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु,नेपाल सरकारले तोकेका अत्यावसेक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरुलाई साउन १४ र १५ गते महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्ताबजार र देवि माध्यमिक विद्यालय बिर्तामोड ५ मा लगाइने जनाईएको छ ।
बिर्तामोड नगरपालिकामा यस अघि ३ हजार ३९८ जनाले पहिलो डोज र ३ हजार ७२ जनाले दोस्रो डोज खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ ।