जेष्ठ ५, २०८२ आईतबार

आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहिता आज मध्यरातिदेखि लागू हुँदैछ ।

आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो ।

आचारसंहिता लागू भएपछि कुनैपनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार-प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि बर्जित हुन्छ । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ । यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन ।

यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ । दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ ।

निर्वाचन प्रचार-प्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ । प्रचार-प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ । तर साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार  ५ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]