प्रचार रणनीति सिकाउँदै सकियो अनेरास्ववियुको प्रचार भेला
बिर्तामोड । रचनात्मक प्रचारका उपाय सिकाउदै दुई दिने प्रचार भेला सकिएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीले झापाको बिर्तामोडमा आयोजना गरेको प्रचार भेला बिहीवार सम्पन्न भएको हो ।
बुधबार उद्घाटन गरिएको प्रचार भेलामा संगठनका केन्द्रीय अध्यक्ष समिक बडाल, जनसंगठन प्रमुख भानुभक्त ढकाल, पार्टीका झापा इञ्चार्ज विशाल भट्टराई, विद्यार्थी इञ्चार्ज किशोर विक्रम मल्ल, अनेरास्ववियुका सचिव मनोज ताम्ली लगायतले सम्बोधन गरेका थिए ।
प्रचार भेलाको दोस्रो दिन सहजीकरण गर्दै पार्टीका पोलिटव्यूरो सदस्य विशाल भट्टराईले अनेरास्ववियुका विद्यार्थीहरुले पहिलो प्राथमिकता अध्ययनमा दिनुपर्ने बताए । अनेरास्ववियुका विद्यार्थी अध्ययनमा अब्बल र स्तरीय परिणाम निकाल्न सक्षम हुनुपर्ने बताएका छन् । उनले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुलाई सीप, प्रविधि र क्षमता विकास गर्नुपर्ने, बोल्ने कलाको विकास गर्नुपर्ने, अनुशासित र विनम्र बन्नुपर्ने, राजनीतिप्रति जिज्ञासु र क्रियाशिल हुनुपर्ने सूझाव दिएका छन् ।
अनेरास्ववियुमा आवद्ध कोशी प्रदेशका विद्यार्थीहरुलाई डिजिटल मिडियाको रचनात्मक प्रयोग गर्दै नागरिकसम्म सत्य सूचना सम्प्रेषण गर्न सिकाइएको छ । विद्यार्थीहरुको माध्यमबाट नागरिकले राज्यबाट प्राप्त गर्ने सुविधादेखि राष्ट्र निर्माणका लागि सकारात्मक विचार प्रवाहमा प्रचार भेला प्रभावकारी बनेको कोशी प्रदेशका प्रचार विभाग प्रमुख नारायण पोखरेलले जानकारी दिए ।
अनेरास्ववियु झापा इञ्चार्ज रोशन लामाले सामाजिक सञ्जाल लगायतका डिजिटल प्लेटफर्महरुमा हदैसम्मको गलत सूचनाहरुले अराजकता मौलाएको बताए । युवा तथा विद्यार्थीहरुले प्रचार भेलामा त्यसको सदुपयोगका बारेमा ज्ञान हासिल गरेको उनको भनाई छ ।
प्रचार भेलामा अन्तिम दिन भट्टराईसहित अफ्जल मियाले अनेरास्ववियुले टेक्नोलोजीबाट के सहयोग लिन सक्छ भन्ने विषयमा सहजीकरण गरेका थिए भने दिपेन्द्र श्रेष्ठले सञ्चार कौशल र प्रचार रणनीतिका बारेमा सहजीकरण गरेका थिए ।