जेष्ठ ५, २०८२ आईतबार

चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा

बिर्तामोड । झापको बिर्तामोड–१ मा रहेको झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ ले झापाली पत्रकारहरुबीच आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ ।

आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष मनाएको हो । बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो ।

१ भेन्टिलेटर, ४ एनआइसियु, ५ पिआइसियु र ५ नर्मल बेडसहित १५ वटा शैय्यासहित हस्पिटल सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डक्टर रुपक आचार्यले बताए ।

‘बालबालिकाको उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता पहिल्यैदेखि महसुस भएको थियो’, कार्यक्रममा उनले भने, ‘अस्पताल स्थापना भएपछिको हामीसँग भएको तथ्याङ्कले बाल अस्पताल कति आवश्यक छ भन्ने कुरा बताउँछ ।’ बितेको एक वर्षमा २ हजार ७५१ बालबालिकाले ओपिडी सेवा, १ हजार ७४ ले इमरजेन्सी सेवा र २ हजार १७८ जनाले अस्पताल भर्ना भएर सेवा लिएको तथ्याङ्क उनले सुनाए ।

जसमध्ये एकजनालाई जटिल समस्याका कारण बचाउन नसकिएको र बाँकी ९९.९ प्रतिशत बालबालिकाले सफलतापूर्वक स्वास्थ्य लाभ लिएको डक्टर आचार्यले बताए ।

बालबालिकाहरुमा खासगरी मेनेन्जाइटिस, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमि, बाथ रोग, मृगौला लगायतका जटिल रोगहरु देखिने गरेको अस्पतालले जनाएको छ ।

शल्यक्रियाबाहेकका सबै सेवा प्रदान गर्दै आएको अस्पतालले मुटुमा समस्या भएका बालबालिकाका लागि प्रत्येक बिहीबार विशेषज्ञ सेवाको व्यवस्था गरिएको डक्टर आचार्यले जानकारी गराए ।

अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डक्टर सुजता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको अध्यक्षता लीला मैनालीले गरेकी थिइन् । अध्यक्ष मैनालीले आफूहरुले पूर्ण रुपमा सेवाभावले अस्पताल सञ्चालन गरेको बताउँदै सञ्चारमाध्यमहरुको साथ सहयोग रहने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड १ नमुना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]