झापामा डुवान हुन सक्ने संभावित क्षेत्रहरु
बिर्तामोड । निरन्तरको वर्षाका कारण झापाका दर्जनौ वस्तीहरु डुवानमा पर्ने संभावना भएको छ । वर्षा मापन केन्द्रहरुका अनुसार झापामा वर्षाको थ्रेसहोल्ड कटेको छ ।
विभिन्न स्थानमा गरिएको वर्षा मापनपछि कचनकवल, चन्द्रगडी, गौरादह र बिर्तामोड उच्च जोखिम क्षेत्रमा परेका छन् । सबैभन्दा धेरै कचनकवलमा १७९।८ मिलिमिटर वर्षा भइरहेको छ ।
वर्षा निरन्तर भइरहे झापाको दर्जनौ वस्ती जोखिममा पर्ने बताइएको छ । झापाभन्दा इलाममा कम वर्षा भएकाले यहाँको वर्षाका कारण नदीहरु नबढ्ने बताइएको छ । तर, यसैगरी वर्षाको दर बढेर गएमा झापा गाउँपालिकाको मिलनवस्ती, सुगा बथान, टप्पु, मदरगाछ, गौरीगञ्जको मागुरमारी, होकलवाडी, विर्खे वस्ती, रंगियथान आसपासको क्षेत्र डुवानमा पर्ने संभावना छ । यस्तै, शिवसताक्षीको किच्चकडाँगी, विश्वडुव्बा, कचनकवलको घेरावारी, पिण्डलवारी, बाह्रदशीको पुरानो राजगढ क्षेत्र, विरिङबाट लकडीगद्दी, मन्सापुर र मेचीबाट भद्रपुर ३ को हात्तीमारा आसपास क्षेत्र डुवानमा पर्ने संभावना भएको बताइएको छ ।
झापा रेडक्रसका विपद् फोकल पर्सन हरिचरण खड्का अनुसार अहिलेकै अवस्थामा घर छोडुन् पर्दैन, यहि अवस्थामा पानी परिरहेमा साँझमा डुवानको जोखिम हुनेछ । डुवान हुनुअघि सुरक्षित स्थानमा जान भनिएको छ ।