तामाङ पत्रकार संघको अध्यक्षमा नेत्र तामाङ
काठमाडौं, १४ पुस । तामाङ पत्रकार संघको सातौँ संघीय राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा नेत्र तामाङ सर्वसम्मत चयन भएका छन् ।
राजधानीमा शनिबार सम्पन्न महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थमान बल, उपाध्यक्ष्यमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ र शिशिर दोङ, महासचिवमा सरस्वती तामाङ, सचिवमा आदर्श थोकर, जिबी लामा र मिक्साङ वाइबा तथा कोषाध्यक्षमा हीरामान बल निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रतीक ङेसुर तामाङले जानकारी दिए ।
यसैगरी, खुल्ला केन्द्रीय सदस्यमा अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, सङ्गम लामा र श्यामलाल लामा निर्वाचित भएका छन् । बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योञ्जन तामाङ, शान्ति थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ र श्यामबहादुर तामाङ तथा कोशी प्रदेशबाट केन्द्रिय सदस्यमा अनुप योञ्जन र सन्तोषिकला तामाङ निर्वाचित भएका छन् ।
यसैगरी, मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा साङबहादुर लो निर्वाचित भएका छन् ।
महाधिवेशनको शनिबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्घाटन गर्दै तामाङ पत्रकारले संस्कार, संस्कृति र वेषभूषाको प्रचारप्रसारमा कलम चलाउनुपर्ने बताए । पत्रकारले सधैँ नयाँ तथ्य खोजी गरी समाजलाई उपयोगी हुने समाचार सामग्री तयार पार्नुपर्नेमा उनको जोड थियो ।