Banner news

कमाउन दिएको कवीर आश्रमको जग्गा हडप्ने प्रयास भयो : सरोकारवाला

कमाउन दिएको कवीर आश्रमको जग्गा हडप्ने प्रयास भयो : सरोकारवाला


बिर्तामोड । लामो समय सेलाएको कनकाई नगरपालिका –४ स्थित बचन बंशी कवीर आश्रम कवीरकुटीको जग्गा विवाद फेरि बाहिर आएको छ । द्वन्द्व बढ्न नदिन रोपेको धान नष्ट गरेपछि विवाद चुलिएको हो ।

स्थानीय दयाप्रसाद उप्रेती लगायतले जग्गा पाउनुपर्ने माग गर्दैै सर्वोच्चमा मुद्धा हालेपछि विवादको सुरुवात भएको थियो । तत्कालिन भूमि आयोगले ०५२ सालमा नापी गरेको जग्गामाथि पटक–पटक दावी विरोध हुदैं आएको छ । उप्रेती परिवारले फुपुले दिएको जग्गा भन्दै दावी गरिरहेका छन् । सोही ठाउँ बस्नेहरुले उप्रेती परिवार ०६४-६५ मा आएर बसेको बताइरहेका छन् ।


पछिल्लो समय सो जग्गामा मुद्धा परेपछि कसैलाई पनि भोगचलन नगर्न नगरपालिकाले निर्देशन दिएको थियो । नगरको निर्देशन विपरित धान रोपाई गरेपछि द्वन्द्व बढ्ने संभावनालाई ध्यानमा राख्दै नष्ट गरिएको थियो ।

धान नष्ट गर्नुभन्दा पहिले पनि कवीर कुटीकै जमिनमा बस्नेहरु र जमिन दावी गर्दै आएको परिवारका बीचमा कुटाकुट भएको थियो । स्थानीयबासीबीच झडप नहोस् भन्ने उद्देश्यले नगरपालिकाले धान खेती नष्ट गरेको थियो । कसैलाई पनि बाली नलगाउन भन्दाभन्दै जवरजस्ती गरेपछि धान नष्ट गरिएको वडा नं. ४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।


सो जग्गा र पछिल्लो समय भइरहेको विवाद बारे स्थानीयले मंगलवार सञ्चारकर्मी समक्ष आफ्नो कुरा राखेका छन् । तत्कालिन जनप्रतिनिधि कोमलप्रसाद पन्तका अनुसार २०२० सालमा जिमदार देवीप्रसाद उप्रेतीले वचनवंशी कवीर आश्रमको नाममा ४ बिगाह जग्गा दिएपनि सरकारी अमिनीले २०५२ सालमा संस्थाको नाममा नापेको जमिन २ विगाह १६ कठ्ठा जग्गा पुगेको थियो । उनले कवीरकुटीको जमिनमा कसैले पनि दावी गर्न नमिल्ने बताएका छन् । यो जमिन आश्रमकै हो, यसमा कसैको दावी पुग्दैन– पन्तले भने ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कवीर आश्रम कनकाई ४ को जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । उनले सार्वजनिक जमिनको संरक्षण गर्ने दायित्व पुरा गर्ने बताएका हुन् । नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने अभिभारा भएको बताउँदै उनले उक्त जग्गा अहिले कसैको नाममा नरहेको बताए । यो जग्गा सार्वजनिक जग्गा हो, आश्रमको नाममा रहेको धनीपुर्जा बदर भए पनि यसलाई कसैको स्वामित्वमा राखिएको छैन, उनले भने ।


क्षेत्राधिकारभन्दा बाहिरबाट संस्थालाई धनीपुर्जा दिएको कारण बदर गरिएको भनिएको छ, प्रमुख पोखरेलले भने, यो जमिन सार्वजनिक सम्पत्ति भएको छ । यसलाई नगरपालिकाले संरक्षण गर्नेछ । कनकाई नगरपालिका क्षेत्रमा कसैले पनि सार्वजनिक जमिन जालझेल गरेर खान नसक्ने प्रमुख पोखरेलको भनाई छ । कवीर कुटीले प्रयोग गर्दै आएको जमिनका बारेमा वास्तविकता बुझेर मात्रै धारणा बनाउन उनको माग छ । मुद्धा परेपछि बाली नलगाउन भन्दाभन्दै लगाएपछि धान नष्ट गरिएको बताउदै प्रमुख पोखरेलले यसअघि पनि जोत्न आउनेहरुलाई स्थानीयले हटाएको जानकारी दिए ।

यस्तै, कनकाई ४ का वडाध्यक्ष रोशन सुवेदीले कवीर आश्रमको जग्गालाई ८ परिवारलाई अंशवंडा गरिदिनु भन्दै केहि व्यक्ति वडा कार्यालय आएको जानकारी दिए । सो जग्गाका बारेमा सर्वोच्चले गरेको फैसला अध्ययन गरेर मात्रै अघि बढ्ने भन्दै फर्काएको बताए । सो जमिन आश्रमकै नाममा थियो, धनीपुर्जा बदर भयो, उनले भने – त्यसको मतलव त्यो जमिन अरुलाई अंश दिने होइन । आश्रमले जग्गाको संरक्षण गर्न आग्रह गरेपछि नगरपालिकाले घेराबारा समेत गरेको छ ।

घेरोबारामा समेत अवरोध भएको थियो । ९ लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले घेराबारा गरेको थियो ।
आश्रमलाई अन्न दिने भन्दै जमिन कमाएका परिवारले अहिले आएर जग्गा दावी गरेको समितिले जनाएको छ । माताहरुलाई अन्न सहयोग पुग्छ भनेर लिखितम गरेर कमाउन दिएको जग्गा हडप्ने प्रयास भयो, संस्थाका अध्यक्ष रोमबहादुर बुढाथोकी भन्छन् ।

आश्रमले अन्य परिवारहरुलाई पनि सो क्षेत्रमा बसोबास गर्न दिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनुसार बसेका मध्ये दुई, तीन घरले मात्रै जग्गा दावी गरेका छन् । बाँकीले जग्गा दावी गरेका छैनन् ।


केहि वर्षअघिसम्म जग्गा दावी गर्दै आएका देवेन्द्र मिश्रले गलत गरेको भन्दै सर्वोच्चबाट फर्किए । जग्गा दावी गर्दै मुद्धामा गएका मिश्रलाई आश्रमले बस्न मात्र दिएको छ । ०५० सालमा आएका मिश्रले आश्रमको जग्गामा दावी नगर्ने निर्णयमा पुगेको जानकारी दिए । उनी भन्छन्, आश्रमले जे निर्णय गर्छ, त्यो मान्न तयार छु ।
कवीरकुटीको जग्गा हडप्न बाहिरका मान्छेहरु धेरै लागेको आरोप लागेको छ ।

शेयर गर्नुहोस :

39.4k
Shares