Banner news

झापामा मतदाताको संख्या ७ लाख १४ हजार ५९५

झापामा मतदाताको संख्या ७ लाख १४ हजार ५९५


बिर्तामोड । झापामा मतदाताको संख्या ७ लाख १४ हजार ५९५ पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । फागुन २१ को निर्वाचन मिति घोषणापछि ३५ हजार ३१९ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए ।

कार्यालय प्रमुख नेपालका अनुसार बायोमेट्रिक मार्फत ११ हजार ७ सय ३३ र राष्ट्रिय परिचयपत्र मार्फत २३ हजार ५ सय ८६ जना नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मंसिर ५ गते रातिदेखि सकिएको छ ।

थपिए आठ लाख ३७ हजार नयाँ मतदाता
प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।
फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या थप बढेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको संख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।

यसअघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।

शेयर गर्नुहोस :

162
Shares