झापा । चाडरक्सीले परिवारमा हिंसाका घटना हुनुलाई नयाँ मानिदैन । वर्षौदेखि मादकपदार्थ हिंसाको कारण बनिरहेको छ । पछिल्लो समय घरेलु हिंसाको कारण मोवाइल पनि भइरहेको छ । परिवारमा मोवाइलले हिंसासँगै विभाजन निम्त्याइरहेको सुरक्षा अधिकारीहरुको धारणा छ ।
झापामा मादक पदार्थ सेवनका कारण सबैभन्दा धेरै घरेलु हिंसा भएको प्रहरीको तथ्याङकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्र बहादुर खड्काले विगतका तथ्याङकका आधारमा मुख्य कारण मादक पदार्थ नै भएको जानकारी दिए ।
मापसे, कुटपिट झैझगडा, गरिवी मानसिक तनाव र मोवाइल फोनका कारण धेरैजसो घरेलु हिंसा हुने गरेको जनाइएको छ । धेरै कारणहरुमध्ये चार वटा कारणले हिंसा भइरहेको प्रहरीको भनाई छ ।
गएको आर्थिक वर्षमा ६५ वटा हिंसाका घटना मापसेका कारण भएको थियो । कुटपिटबाट ५५, गरिवीका कारण ३१ र मोवाइल फोनका कारण ३८ वटा घरेलु हिंसाका घटना भएको प्रवक्ता खड्काको भनाई छ ।
०८२ साउनदेखि कात्तिक महिनामा मापसेका कारण १९ वटा हिंसाका घटना भइसकेका छन् । कुटपिटबाट २५,गरिवी ८ र मोवाइलका कारण ७ वटा घरेलु हिंसाका घटना भएका छन् । चालु आर्थिक वर्षको चार महिनामा ५९ वटा उजुरी परेका छन् भने ४३ वटा घटनामा सहमति भएको जनाइएको छ । १७ वटा हिंसाका घटनामा सहमति हुन बाँकी रहेको उनले जानकारी दिए ।
अघिल्लो वर्षमा १८९ वटा उजुरी दर्ता भएको थियो । १७५ वटा घटनामा सहमति भएको थियो भने १४ वटा मुद्धा अदालत गएको थियो ।
प्रविधिको प्रयोगबाट चालु वर्षको चार महिनामा लैंगिक हिंसाका ठाडो निवेदन परेको प्रवक्ताको भनाई छ । उनका अनुसार सबैभन्दा धेरै फेसबुकबाट हिंसा भएको तथ्याङक छ । फेसबुकबाट १७, वाट्सएप १४, टिकटक,भाइवर २÷२ वटा लैंगिक हिंसाका घटनामा ठाडो निवेदन परेको हो ।
झापामा साउनयता लैंगिक हिंसाविरुद्धका ५४ कसुर दर्ता भएको प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै जवरजस्ती करणीमा २९, जवरजस्ती करणी उधोगमा ४, बाल यौनदुरुपयोगमा ७, अप्राकृतिक मैथुनमा १, बहुविवाह ११,मानव बेचविखन १ र अपहरण तथा शरिर बन्धक कसुरमा १ मुद्धा दर्ता भइसकेको छ ।







प्रतिक्रिया