Banner news

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै

झापामा दुई मतदानस्थल सारिए, डेढ सय बढी केन्द्र थपिँदै


झापा, १७ मङ्सिर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दुई मतदान स्थल असहज परिस्थितिका कारण सारिएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले मतदानस्थल रहेका स्वास्थ्य केन्द्र नगर अस्पतालमा परिणत भएर बिरामीको चाप बढेका कारण अर्को स्थानमा सारिएको बताउनुभयो । उहाँका अनुसार मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी स्वाथ्य कार्यालय र विर्तामोड नगरपालिका–३ मा रहेको विर्तामोड स्वास्थ्य केन्द्रबाट सारिएको हो । हाल दुवै स्वास्थ्य कार्यालय नगर अस्पतालमा स्तरोन्नति भएका छन् ।
“नगर अस्पतालमा सेवाग्राहीको चाप बढी हुन्छ”, उहाँले भन्नुभयो, “चुनावका बेला तीन–चार दिन अस्पताल बन्द गर्नुपर्ने हुन्छ, यसो हुँदा सेवाग्राहीलाई असर पर्ने देखेर सारिएको हो ।” उहाँले धुलाबारी स्वास्थ्य केन्द्रको मतदानस्थललाई सोही वडाको वडा कार्यालय र विर्तामोड स्वास्थ्य केन्द्रको मतदानस्थललाई नजिकै रहेको डोमालाल राजवंशी रङशालामा सारिएको बताउनुभयो ।
उहाँले जिल्लामा विगतमै रहेका २८५ मतदानस्थल नै कायम रहने जानकारी दिनुभयो । उहाँले जिल्लामा थपिएका ३५ हजार ९८२ जना नयाँ मतदाताको आधारमा मतदान केन्द्र थपिने जानकारी दिनुभयो । उहाँका अनुसार एउटा मतदान केन्द्रमा एक हजार जना मतदाता हुनेछन् । उहाँले आगामी प्रतिनिधिसभाको निर्वाचनमा ८०० बढी मतदान केन्द्र थपिने अनुमान रहेको बताउनुभयो । झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ ।

शेयर गर्नुहोस :

432
Shares