प्रदीप परियार
झापा – कामको खोजीमा भारत पुगेका झापाका दुई युवाको एउटा भिजिटिङ कार्डको पछि लाग्दा झण्डै ज्यान गयो । कात्तिक अन्तिम साता भारत गएका बिर्तामोडका जुमेश मगर र उनका भान्जा दुधेका २० वर्षीय विजय मगर ज्यान बचाएर भर्खरै घर फर्किएका छन् । त्यहाँका लुटेरा समूहले उनीहरुलाई ६ घण्टा कोठामा थुनेर कुटपिट गरी छोडिदिएको घटना सार्वजनिक भएको छ ।
इलाम जितपुर घर भई बिर्तामोड-१ थेवेडाँडा बस्दै आएका २१ वर्षीय जुमेश मगर भान्जाको सल्लाहमा केरला पुगेका थिए । कामको खोजीमा केरला पुगेका उनीहरु तामिलनाडुबाट ज्यान बचाएर घर फर्किन सफल भएका हुन् ।
‘भान्जा केरलाको होटलमा काम गर्थे’, जुमेश भन्छन्, ‘काम पाइन्छ भने म पनि जान्छु भनेर गएको हुँ ।’ उनीहरु सल्लाहमै भारत केरला तिर लागेका थिए । रेल चढ्नुभन्दा पहिले दुवै जनाले काम पाइने आशामा पुुरानो ठाउँमा सम्पर्क गरेका थिए । भान्जाले पहिले काम गर्दै आएको ठाउँबाट ‘हुन्छ’ भनेपछि उनीहरु केरलातिर लागेका थिए ।

केरला पुगेपछि उनीहरुलाई एक जनालाई मात्र काम दिने खबर आयो । उनीहरु दुवै जनाले सँगै काम पाए मात्रै गर्ने भनेका थिए । सँगै काम गर्न नपाएपछि घर फर्किने योजना बनाए । उनीहरुले रेलमा फेला परेको एउटा भिजिटिङ कार्डको नम्बरमा सम्पर्क गरेका थिए ।
रेलको यात्रामा रहेको बेला इरोर जक्सन भन्ने ठाउँमा एक अपरिचित मान्छेले केही भिजिटिङ कार्ड रेलमा छरिदिएका थिए । मामा भान्जाले पनि एउटा भिजिटिङ कार्ड उठाए । जुमेशका अनुसार भिजिटिङ कार्डमा बिस्कुट फ्याक्ट्रीमा कर्मचारी आवश्यकता लेखिएको थियो । कामको खोजीमा पुगेका उनीहरुले काम पाइने खुशीमा त्यहाँ सम्पर्क गरे ।
सम्पर्क गर्दा उनीहरुलाई १२ जना कर्मचारी आवश्यकता भएको जानकारी सूचना प्राप्त भयो । तामिलनाडुमा फ्याक्ट्री रहेको र तत्कालै आउन भनेर फोनमा भनियो । उनीहरुले सम्पर्क गरेको भोलिपल्ट आउने बचन दिए । फ्याक्ट्रीको लोकेशन पठाइदिने भनेपछि दुवै जना राति ११ बजे तामिलनाडु पुगेका थिए । त्यो रात त्यहीँ बसे । बिहान उनीहरु सम्पर्कमा पुगे । त्यहाँ आफूहरुसँग नेपाली नागरिकता र फोटो मागेको जुमेश बताउँछन् । ‘त्यसपछि
काम पक्का भयो, शंखगिरी स्टेशन आउनु भनेपछि हामी त्यहाँ पुग्यौँ’, जुमेश भन्छन्, ‘त्यहाँबाट हामीलाई शहरभन्दा धेरै भित्र गाउँ लगियो ।’
जुमेशको भनाई अनुसार गाउँमा मान्छेहरु अति पालतो देखिए । फाट्टफुट्ट स्कुल बस । केही मोटरसाइकल मात्र देखिन्थ्यो । बिहानको ९ बजेअघि एउटा घरभित्र कोठामा बस्न भन्दै त्यहाँ र्पुयाउनेहरुले म्यानेजर आउँछ बस्दै गर्नु भनेर छोडिदिएको जुमेश बताउँछन् ।
केहीबेरमा एक जना, दुई जना हुँदै सात जना तामिल केटाहरु आए । दुवै जनालाई खानतलासी गर्दै नागरिकता, साथमा भएका कागजात, एटिएम, मोबाइल, पैसा सबै खोसे । म्यानेजरले १८ हजार दिने भनेपछि आफूहरु अचम्मित भएको जुमेशले बताए । ‘काम गर्ने ठाउँ छैन, पैसा दिन्छु भन्छ’, उनी भन्छन्, ‘विस्कुट फ्याक्ट्रीमा लोडअनलोड भनेको थियो ।
दैनिक ९ सय रुपैयाँ भनेको थियो भन्दा म्यानेजर भनिएका व्यक्तिले त्यो भिजिटिङ कार्डवाला आफ्नो एजेन्ट मात्रै भएको सुनाए ।’ एजेन्टले १ लाख रुपैयाँ खाएको भन्दै म्यानेजरले थर्काउन थाले । म्यानेजरले १२ जना मान्छे पठाउँछु भनेर २ जना मात्र पठायो भन्दै अब तिमीहरुले ५० प्रतिशत रकम (भारु ५० हजार) नबुझाए फर्किन दिन्नँ भनेपछि आफूहरु फँसेको थाहा पाएको उनले सुनाए ।
उनका अनुसार त्यहाँ र्पुयाउनेहरुले कोठामा थुनेर घरबाट पैसा झिकाउन १५ मिनेटको समय दिए । उनीहरुले आफ्नो फोन प्रयोग गरेर पैसा माग्न घरसम्म सम्पर्क पनि गराइदिए । परिवारले पैसा व्यवस्थापन गर्न नसक्ने थाहा भए पनि जुमेशले आग्रह गरे । आफूलाई छाडिदिन्छ भन्ने आशमा परिवारसँग पैसा मागेको उनले बताए । ढाँटेर समय बिताउने सोचेका उनीहरुमाथि बिहान ९ बजेबाट हातपात सुरु भयो । सुरुमा मोबाइलको चार्जरको तारले हान्न थालेका तामिल युवाहरुले विस्तारै हातले, लात्तीले हिर्काउन थाले । उनी भन्छन् – ‘सातै जनाले डण्ठा ल्याएर हिर्काउन थाले, चक्कुले पनि हाने । त्यसपछि अब बाँचिदैन भन्ने लाग्यो ।’ उनीहरुमाथि बिहान ९ बजेदेखि २ बजेसम्म लगातार कुटपिट भएको उनको भनाइ छ ।
लगातार कुटपिट भइरहेपछि उनीहरुलाई लागेछ – अब मार्ने नै भए । घर फर्किन नपाइने रहेछ । जुमेश भन्छन्,
‘हामीलाई मारेरै छोड्ने रहेछ भन्ने लागेपछि १/२ जना मारेर मात्रै मर्छौं भनेर हात फर्कायौं ।’ सात जनाको अगाडि उनीहरुको केही लागेन । झन्डै ३ बजेतिर झन्डै बेहोस अवस्था बनाएर ती लुटेराहरुले खाली ठाउँ लगेर छाडिदिए ।
रगताम्मे भएका उनीहरु लुटेरा समूहबाट मुक्ति पाए पनि उपचारको लागि कसैको सहारा पाएनन् । उनीहरु त्यहाँबाट आफ्नै कपडाले रगत पुसेर शंखगिरी फर्किए । त्यहाँ भेटिएका एक जना तामिलले उनीहरुलाई प्रहरीलाई खबर गर्न सुझाव दिए । सरकारी अस्पतालमा उपाचार गर्न प्रहरीको रिपोर्ट चाहियो । प्रहरी नआएपछि उनीहरु आफै बेटाडिन, रुवा लगायतका सामग्री किनेर आफन्तको सहयोगमा नेपाल फर्किएका छन् ।
जुमेशको आमाले छोराको त्यस्तो खबर सुनेपछि उद्धारको लागि हारगुहार गरेको बताइन् । अहिले घरमै आराम गरिरहेका दुवै युवाले भारतमा काम खोज्दै जाँदा चिनजानको मान्छेसँग सम्पर्क गरेर मात्रै जान आग्रह गरेका छन् ।







प्रतिक्रिया