Banner news

शिवसताक्षीमा भव्यताका साथ मनाइयो चासोक तङ्नाम

शिवसताक्षीमा भव्यताका साथ मनाइयो चासोक तङ्नाम


शिवसताक्षी । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम २०८२ शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो ।

किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समिति र किराँत थाक्थुङ चुम्लुङ र नालिफुङगो चुम्भोको संयुक्त आयोजनामा चासोक तङ्नाम पर्व मनाइएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले जानकारी दिए ।

चासोक तङ्नामको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले सबै समुदायहरुलाई एकै स्थान जम्मा गरी मौलिक पर्व चासोक तङ्नामलाई उत्सवको रुपमा मनाउनका निमित्त कार्यक्रमको आयोजकलाई जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । उनले देशको पहिचान र सम्पत्ती भनेकै सबै जात जातिहरुको भाषा, धर्म, लिपी लगायतका संस्कृतिक पर्वहरु भएको बताए । उनले भने, यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको दायित्व हो ।

चासोक तङ्नाम एउटा इतिहास बोकेको पर्व भएकाले पछिल्लो समय यसको महत्व बढ्दै गएको छ । उनले आगामी दिनहरु उज्जल बनाउनका निम्ति हामी हाम्रा नकरात्मक सोचहरुलाई निरुत्साहित गर्दै सबैले सृजनशिल भएर भावी सन्तनीका लागि काम गर्नु पर्ने बताए ।

कार्यक्रममा च्याब्रुङ नाच, साकेला नाच, लिम्बु भाषाका गीतहरु प्रस्तुत गरिएको थियो । त्यस्तै लिम्बु समुदायका दाजु भाई तथा दिदीबहिनीहरुले आफ्नो पोशाकमा सजिएरका कार्यक्रममा सहभागी भएका थिए भने चासोकमा लिम्बु समुदायका परम्परागत खेलहरु प्रस्तुत गरिएको थियो । आयोजकले यस पटक याक्थुङ पाङबो (लिम्बु समुदायको परम्परागत बस्ती) भल्कने गरी ३ ओटा मौलिक घर निर्माण गरिएको थियो ।

गएको मंसिर १३ गतेबाट सुरु भएको मेलाको पनि आज समापन भएको छ । मेला समितिका संयोजक अग्नी राईले मेला सभ्य र व्यवस्थित भएको जानकारी दिए । उनले आज बेलुकी १० बजेबाट मेलाका सम्पूर्ण कार्यक्रमको समापन हुने बताए ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, पूर्व सांसद तारासम योङ्यालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत किराँत याक्थुङ चुम्लुङ सदस्य तथा वडाध्यक्ष सन्त फउदिन गरेका थिए । वडा नं. ११ वडा सदस्य पर्शुराम अधिकारीले लिम्बु भाषा मै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भिम लिवाङले गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, लेखा अधिकृत प्रकाश योङहाङ्ग, विभिन्न राजनीतिक दल, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायत कोशी प्रदेका विभिन्न स्थानबाट २० हजार बढीको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

81
Shares