शिवसताक्षी । शिवसताक्षीको दूधे रंगशालामा कार्तिक १७ देखि २४ गतेसम्म सम्पन्न झापा महिला गोल्डकप फुटबल प्रतियोगिताबाट ५० लाख ४० हजार १११ रुपैयाँ बचत भएको छ।
प्रतियोगिता सञ्चालन समिति अनुसार गोल्डकपमा १ करोड ३३ लाख ९६ हजार १११ रुपैयाँ आम्दानी र ८३ लाख ५३ हजार रुपैयाँ खर्च भएको झापा गोल्डकप समितिले जनाएको छ ।
समितिका अनुसार प्रतियोगिताको आम्दानी मुख्य प्रायोजक एलभिडी, विभिन्न प्रायोजक तथा सह–प्रायोजक, नगरपालिका, सदस्यता शुल्क, समिति–टिम, सहकारी संस्था, दोमुखा पर्यटन विकास समिति, गोल्डकप सदस्यता, टिकट बिक्री लगायतका शीर्षकबाट संकलन भएको हो।

त्यस्तै, प्रतियोगिता सञ्चालनका क्रममा टिम खर्च, तीनवटा होटलमा खेलाडी व्यवस्थापन , पुरस्कार राशी, खेल मैदान मर्मत, छपाई तथा प्रचार–प्रसार, गाडी भाडा, डेकोरेशन, रेफ्री तथा टेक्निकल टिम, लगायत ३३ शीर्षकमा गरी ८३ लाख ५३ हजार रुपैयाँ खर्च भएको अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए।
अध्यक्ष थोप्राका अनुसार प्रतियोगिताबाट बचत भएको रकम अहिले गोल्डकपकै खातामा राखिनेछ। आगामी वर्षहरूमा पनि गोल्डकप नियमित रूपमा आयोजना गर्ने लक्ष्यका साथ कम्तीमा १ करोड रुपैयाँको कोष निर्माण गर्ने तयारी भइरहेको अध्यक्ष थोप्राले बताए। उनका अनुसार कोषबाट प्राप्त हुने ब्याज रकमले हरेक वर्ष प्रतियोगिता सञ्चालन, खेल मैदान मर्मत तथा व्यवस्थापन खर्च जुटाइनेछ।
झापा महिला गोल्डकपमा ८ टिमले सहभागिता जनाएका थिए। फाइनल खेलमा नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको थियो। उपाधिसँगै विजेता टिमले १० लाख १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।







प्रतिक्रिया