शनिश्चरे । ‘प्रविधिको सही प्रयोग गरांै, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान बुधबार समापन भएको छ ।
अर्जुनधारा नगरपालिका – ८ स्थित सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा सचेतना मुलुक कार्यक्रमसहित समापन भएको हो । प्रमुख अतिथि एवं झापा नं –२ का पूर्व प्रदेश सांसद बृख बहादुर प्रधानले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । समापनको अवसरमा संस्थाका व्यवस्थापक पम्फादेवी विश्वकर्माले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् भने अधिवक्ता कोपिला बस्नेतले सहजीकरण गरेकी थिइन् ।

संस्थाको अध्यक्ष ज्ञान कुमारी थापाको सभापतित्व र कर्मचारी निर्मला राईले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रधानले सम्बोधन गर्दै ‘देश हाम्रै हो, हामीले हाम्रो देश आफैं बनाउनुपर्छ’ भन्ने सोची पूर्वाग्रह त्यागेर राष्ट्र निर्माणमा जुट्न जेनजी पुस्तालाई सुझाव दिए ।
सो कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख नारायण प्रसाद पौड्याल, आन्तरिक लेखापरीक्षण समिति संयोजक कृष्णप्रसाद पौडेल, संस्थाका सल्लाहकार सदस्य मिश्र कुमारी राईले लैङ्गिक हिंसा अन्त्यका लागि जोड दिदैं आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ६० जना भन्दा बढी क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रम संचालक राईले जानकारी दिइन् । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मंसिर ९ गतेदेखि सञ्चालन गरिएको थियो ।







प्रतिक्रिया