शिवसताक्षी । महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा लैंगिक समानताको प्रवद्र्धनका उद्देश्यसहित सञ्चालन गरिएको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान शिवसताक्षी नगरपालिकामा विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ ।
गत नोभेम्बर २५ मा वडा नं. ३ पाराबारीबाट सुरु गरिएको अभियानको शिवसताक्षी–१० माइधारमा बुधबार विशेष समारोहमार्फत समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मेगाहाङ थोप्राले राजनीतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सबै क्षेत्रमा विद्यमान लैंगिक विभेदलाई अन्त्य गर्न सबैले आफ्नो घरपरिवारदेखि नै परिवर्तनको अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

“समयसँगै सोच बदल्न सके मात्र हिंसामुक्त समाजको निर्माण सम्भव छ, त्यसका लागि नगरपालिका प्रत्येक वर्ष निरन्तर अभियान चलाउँदै आएको छ,” उहाँले भन्नुभयो । कार्यक्रममा श्री राष्ट्रिय रमणीय आदर्श मावि दुधेका विद्यार्थीहरूले महिला हिंसा विरुद्धको चेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए । नाटकको कथा साहित्यकार विरेन्द्र थोक्लियाङले लेख्नुभएको हो भने संयोजन तथा निर्देशन शिक्षक गोविन्द काफ्लेले गरेका थिए । दर्शकले नाटकलाई अत्यन्त प्रभावकारी र सन्देशमूलक रहेको प्रतिक्रिया दिएका थिए ।
अभियान समापनको अवसरमा शिवसताक्षी नगरपालिकाले जाडोयामको कठिनाइलाई मध्यनजर गर्दै विपन्न तथा महिला हिंसामा परेका २० महिलालाई न्यानो ब्लाङ्केट वितरण गरेको छ । कार्यक्रममा नगरउप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, लेखा शाखा प्रमुख प्रकाश योङहाङ, वडाध्यक्ष हर्क सिगु, जिल्ला समन्वय समिति सदस्य जुनु मोहोरा लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
१६ दिने अभियानका सबै गतिविधि शिवसताक्षी नगरपालिकाको आयोजना, कारितास नेपाल तथा इलाका प्रहरी कार्यालय झिलझिलेको सहकार्यमा सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । कार्यपालिका सदस्य यशोदा विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नगर महिला समिति सदस्य विष्णु अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीले गर्नुभएको थियो ।







प्रतिक्रिया