काठमाडौं – नेकपा एमालेले १० औं महाधिवेशनपछि शसक्त रुपमा कार्यकर्तालाई बैचारिक,सैद्धान्तिक ,संगठनात्मक,सामाजिक रुपमा प्रशिक्षित गर्नका लागि पार्टी स्कूल विभागलाई सक्रिय गरायो ।
नेता कार्यकर्तामा बैचारिक बिचलन,आफूले आदर्श मानेको माक्र्सवाद,लेलिनवाद र जनताको बहुदलीय जनवादका बारेमा कतिपय नेताहरुमै आधारभुत ज्ञान नहुँदा नयाँ कार्यकर्तालाई बिचारले प्रभावित पार्ने विषय कमजोर भएकोले यो विभागलाई थप सक्रिय बनाइएको एमालेले जनाएको छ ।

महाधिवेशन सकिएको ३ महिनापछि १९ माघ २०७८ मा उपमहासचिव प्रदिप ज्ञवालीलाई यस विभागको प्रमुख बनाउने निर्णय एमालेले गरेको थियो । ज्ञवालीका अनुसार चार वर्षको अवधीमा विभिन्न तहका ७ हजार ७ सय ८३ जना नेता कार्यकर्तालाई प्रशिक्षित गरिएको छ । स्कूल विभागले तयार गरेको प्रतिवेदन अनुसार प्रशिक्षणमा जनसंगठन देखि प्रवास सम्म जनप्रतिनिधि देखि नवप्रवेशीसम्मका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको उल्लेख छ ।
प्रतिवेदन अनुसार चार वर्षको अवधीमा जनसंगठनतर्फ ६२५,प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण ४०८,स्थानीय तहका जनप्रतिनिधि ६५६ जनालाई प्रशिक्षण दिइएको छ । यस्तै नवप्रवेशी २५०,जिल्ला तहका नेता कार्यकर्ता ५ हजार ४ सय २६,वित्त तथा कोष व्यवस्थापन ५६,भारत प्रवास ५६ जनालाई प्रशिक्षित गरिएको छ ।
‘यस बीचमा हामीले हुम्ला देखि पाँचथरसम्म,झापा देखि कञ्चनपुरसम्म गरी ६६ वटा भौगोलिक प्रशिक्षकहरु सञ्चालन गर्यौं’ ज्ञवालीले भन्नुभयो ‘हामीले ३-४ दिनका कार्यशाला,अन्तरक्रियात्मक शैली, अनुभवी र विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइएको हुनाले धेरै कार्यकर्ताहरुले पार्टीको आधारभुत सिद्धान्त र मान्यताका बारेमा स्पष्ट हुनुभएको छ ।’
विभागका सचिव घनश्याम कोइरालाका अनुसार पार्टी केन्द्रको स्कूल विभागले माध्यमिक तहको प्रशिक्षण सञ्चालन गर्ने गरेको छ । विभागले उत्पादन गरेका प्रशिक्षकहरु प्रदेश,जिल्ला र स्थानीय तहहरुले आयोजना गर्ने प्रशिक्षणका काम गरिरहेका छन् । ‘हामीले बृह्त्तर रुपमा प्रशिक्षणको काम अघि बढाएका हौं । केन्द्रले प्रशिक्षक उत्पादन गर्ने,प्रदेश र जिल्ला र स्थानीय तहले उनीहरु मार्फत सम्बन्धित तहका कार्यकर्तालाई पार्टी,समाज,देश र विदेशका बारेमा थाहा पाउन मद्धत गरिरहेका छन् ’ कोइरालाले भन्नुभयो ।
विभागले सातै प्रदेशमा स्थायी स्कूल सञ्चालन गर्ने तयारी गरेको छ । जस अनुसार केन्द्रको स्कूल विभाग मदन आश्रित स्मृति भवन गोठाटारमा,कोशीमा मदन भण्डारी स्मृति प्रतिष्ठान इटहरामा,मधेशको मदन आश्रित स्मृति भवन लालबन्दीमा,गण्डकीको पुष्पलाल स्मृति प्रतिष्ठान पोखरामा,लुम्बिनीको नेपालगञ्ज,देउखुरी र बुटवलमा र सुदुरपश्चिमको कञ्चनपुर स्थित जिल्ला पार्टी कार्यलयमा स्थायी स्कूलको संरचना तयारी थालेको छ । विभागले आधारभुत तहको पाठ्यक्रमका लागि समृद्धि सोपान स्रोत पुस्तक पनि तयार गरेको छ ।







प्रतिक्रिया