Banner news

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनः निर्माण योजना तयार गर्न गठित समितिद्वारा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन पेस गर्नुहुँदै समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ । तस्बिर साैजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाण्डौ – गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक सार्वजनिक भएको छ ।

क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १ सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ ।

आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ पालिकामा क्षति भएको थियो । प्रतिवेदनअनुसार १२ हजार ६ सय ५९ वटा गाडी क्षति हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुनुकासाथै सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

त्यसैगरी, दुई हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ र त्यसमा पनि क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । प्रतिवेदन अनुसार सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत,  प्रदेशको १० र पालिकाको २२ प्रतिशत छ ।

प्रतिवेदन अनुसार आन्दोलनका कारण २ हजार ९ सय ९९ जनाको रोजगारी प्रभावित बनेको छ । साथै, १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबर वस्तु तथा सेवा उत्पादन प्रभावित भएको छ ।

शेयर गर्नुहोस :

0
Shares