बुधबारे । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको १३ औँ वार्षिक साधारण सभा अन्तर्गतको एकाइगत सभा बुधबारेमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनअनुसार फजुल खर्च नगर्ने नीति अवलम्बन गर्दै संस्थाले शुक्रवार एकाइ ५ को सभा बुधबारेस्थित रामजानकी मन्दिरको सभाहलमा सम्पन्न गरेको हो ।
सभामा संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले नियमन प्राधिकरणको निर्देशनअनुसार साधारण सभालाई छरितो र मितव्ययी बनाइएको जानकारी दिँदै राज्यका निकायबाट हुने अनुगमनलाई संस्थाले सधैं स्वागत गर्ने बताउनुभयो । सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समिति सदस्य श्री प्रसाद न्यौपानेले प्रस्तुत गर्नुभयो भने ऋण उपसमितिको प्रतिवेदन संयोजक तुलसीराम गौतमले वाचन गर्नुभयो ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल संस्थामा ३९ हजार १०५ जना शेयर सदस्य आबद्ध छन् । संस्थाको शेयर पूँजी १८ करोड ५१ हजार ७०० रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाले १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार १९५ रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९५ करोड १२ लाख २३ हजार ५८५ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको कुल कारोबार (वासलात) २ अर्ब ३७ करोड १४ लाख ३८ हजार ५१ रुपैयाँ रहेको छ ।
संस्थाका व्यवस्थापक सरोज दाहालले हालसम्म सुरुङ्गा, चुलाचुली, गेउरिया, उर्लाबारी र बुधबारेका एकाइ सभाहरू सम्पन्न भइसकेको जानकारी दिनुभयो । कार्यतालिका अनुसार बाँकी रहेका बिर्तामोड एकाइको पुस ६ गते र चन्द्रगढी एकाइको पुस ७ गते सभा हुनेछ । यी सम्पूर्ण सभाहरूपछि पुस १० गते बिर्तामोडमा ’अन्तिम माइन्युट प्रमाणीकरण सभा’ गरी १३ औँ वार्षिक साधारण सभाको समापन गरिने उहाँले बताउनुभयो ।







प्रतिक्रिया