झापा । ‘सामुहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ नारा दिएर झापामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार बिर्तामोडमा १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघ लि.का अध्यक्ष प्रेमकुमार काइरालाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१-८२ को असार मसान्तसम्म संस्थाको बैंक मौज्दात २ करोड २२ लाख ११ हजार ८७२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो ।
उक्त अवधिसम्म संस्थाको कुल बचत रकम ३ करोड ८८ लाख ३५ हजार २९ रुपैयाँ पुगेको थियो भने सेयर पुँजी ८६ लाख ७३ हजार ४०० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष गौतमले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संस्थाबाट प्रवाह गरिएको कर्जा लगानी रकम ३ करोड ७ लाख ३१ हजार ५७७ रुपैयाँ रहेको छ भने सेयर सदस्य संख्या १ हजार ४२२ जना पुर्याइएको जनाइएको छ ।
कार्यक्रममा अध्यक्ष गौतमले संस्थाले हालसम्म हाँसिल गरेको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउँदै आगामी दिनमा सदस्यहरूको हितलाई केन्द्रमा राखी सहकारीलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले सहकारी संस्थालाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकहरूको आर्थिक सशक्तीकरणमा सो सहकारी संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको पनि बताउनु भयो ।
सो कार्यक्रममा सहकारी अभियन्ता हरिचरण बानियाँ लगायतले मन्तब्य राख्नु भएको थियो ।
साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, जेष्ठ सदस्य तथा उत्कृष्ट विद्यालय कर्मचारी सदस्यलाई सम्मान गरिएको थियो ।
साथै, संस्थाका सदस्य रहेका विद्यालय कर्मचारीका छोराछोरीहरूमध्ये २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र–छात्राहरूलाई समेत सम्मान गरिएको थियो ।







प्रतिक्रिया