Banner news

शिवगञ्ज बजारमा अनुगमन

शिवगञ्ज बजारमा अनुगमन


शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्ज बजारमा अनुगमन गरिएको छ । नगरपालिकाले इलाका प्रशासन कार्यालय दमक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको समन्वयमा अनुगमन गरेको हो ।
शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारका खाद्य सामग्री बिक्री वितरण गर्ने २५ वटा पसलको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा प्रतिबन्धित भारतीय माछा बिक्री भइरहेको फेला परेको छ । अंकित सहनीको पसलबाट १५ केजी माछा जफत गरी खाल्डोमा पुरिएको नगरपालिकाले जानकारी दिएको छ ।

त्यस्तै, शिवगञ्ज सब्जी मण्डी परिसरमा रहेको राजवंशी फ्रेस हाउसले रंग लगाएर मासु बिक्री गर्दै गरेको पाइएको छ । अनुगमनका क्रममा पवित्रा किराना पसलबाट म्याद गुज्रिएका खाद्य सामग्री, हेल्थ बेकरीबाट लेबल नभएका तथा म्याद गुज्रिएका ब्रेड, अन्य किराना पसलहरूबाट लेबलविना प्याकेजिङ गरिएका हरियो मटर, मसला, पेय पदार्थ, चिप्सलगायतका खाद्यवस्तुहरू म्याद गुज्रिएको अवस्थामा फेला परेका छन् ।

अनुगमन टोलीले तरकारीजन्य वस्तुको विषादी परीक्षणसमेत गरेको छ । शिवसताक्षी नगरपालिका कृषि शाखा प्रमुख रविन भट्टराईका अनुसार बैगुन, काउली, बन्दाकोपी, गोलभेँडा र ब्रोकाउलीको ल्याब परीक्षण रिपोर्ट उपभोगयोग्य आएको छ ।
नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले म्याद गुज्रिएका तथा लेबल नलागाइएका खाद्यवस्तुहरू पसलबाट हटाउन र बिक्री नगर्न व्यापारीहरूलाई सुझाव दिइएको बताउनुभयो ।

जिल्ला खाद्य कार्यालयसहितको अनुगमन टोलीले चार वटा होटलमा परौठा र सेलरोटी पकाउन प्रयोग भइरहेको खाने तेलको समेत परीक्षण गरेको थियो । परीक्षणका क्रममा दुई होटलमा प्रयोग गरिएको तेल खान अयोग्य फेला परेपछि त्यसलाई डिस्पोज गरिएको छ । यस्तै, एक पसलबाट बोतलमा राखेर पेट्रोल बिक्री गरिएको समेत भेटिएको छ ।

इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले पछिल्लो समय अखाद्य वस्तुको बिक्री वितरणमा कमी आएको बताउनुभयो । निरन्तर अनुगमनका कारण यस्तो अवस्था सुधार हुँदै गएको उहाँको भनाइ छ । उहाँले व्यापारी र उपभोक्ता दुवै सचेत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अनुगमनका क्रममा जफत गरिएका अखाद्य वस्तुहरू नगरपालिकाको परिसरमा डिस्पोज गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अनुगमनमा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, कृषि शाखाका कर्मचारी, नगर प्रहरी तथा शिवगञ्ज प्रहरीको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

135
Shares