बिर्तामोड – झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) को १३ औँ वार्षिक साधारण सभा अन्तर्गत आइतबार बिर्तामोड एकाइ ६ को सभा सम्पन्न भएको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी पछिल्लो निर्देशिकाको पूर्ण परिपालना गर्दै संस्थाले यस वर्षको साधारण सभालाई अत्यन्तै छरितो र मितव्ययी ढंगले सञ्चालन गरिरहेको छ।

सभामा संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको सुशासन र पारदर्शिता नै संस्थाको मेरुदण्ड रहेको उल्लेख गर्नुभयो। उहाँले राज्यका नियमनकारी निकायहरूबाट हुने अनुगमन र सुपरीवेक्षणलाई संस्थाले संस्थागत सुधारको अवसरका रूपमा सदैव स्वागत गर्ने बताउँदै कार्यसम्पादनका क्रममा देखिन सक्ने प्राविधिक कमजोरीहरूलाई तत्काल सच्याएर अघि बढ्न संस्था सधैं तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रस्तुत वित्तीय प्रतिवेदन अनुसार संस्थाको कुल कारोबार (वासलात) २ अर्ब ३७ करोड १४ लाख ३८ हजार ५१ रुपैयाँ पुगेको छ। कुल ३९ हजार १०५ जना शेयर सदस्य आबद्ध रहेको यस संस्थाको शेयर पूँजी १८ करोड ५१ हजार ७०० रुपैयाँ रहेको छ। त्यसैगरी, संस्थाले सदस्यहरूबाट १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार १९५ रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९५ करोड १२ लाख २३ हजार ५८५ रुपैयाँ ऋण लगानी गरेको छ। समीक्षा अवधिमा संस्थाले १३ लाख ४९ हजार ७३५ रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ। सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य लेखा समिति संयोजक अर्जुन लामा र ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमिति संयोजक तुलसीराम गौतमले प्रस्तुत गर्नुभएको थियो।
संस्थाका व्यवस्थापक सरोज दाहालका अनुसार हालसम्म छ वटा एकाइ सभाहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। कार्यतालिका बमोजिम पुस ७ गते चन्द्रगढी एकाइको सभा सम्पन्न भएपछि आगामी पुस १० गते बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणीकरण सभा आयोजना गरी १३ औँ वार्षिक साधारण सभाको औपचारिक समापन गरिनेछ। झापा, मोरङ र इलामका ३१ वटा सेवाकेन्द्र मार्फत गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस संस्थाले वर्तमान आर्थिक चुनौतीका बीच सदस्यहरूको बचत सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ।







प्रतिक्रिया