काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । विराटनगर निवासी २७ वर्षीय थापाको बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएको हो ।
विराटनगर–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । थापाको असामयिक निधनले घरपरिवारसँगै नेपाली क्रिकेटप्रेमी शोकमा डुबेका छन् ।
थापाको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापालाई कोशी प्रदेशको एक ‘कुशल तथा अत्यन्त प्रतिभाशाली’ खेलाडीको रूपमा स्मरण गरेका छन् ।
सचिव खड्काले फेसबुकमा लेखेका छन्, ‘अत्यन्तै दुःखद खबर प्राप्त भएको छ । कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनष थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ ।’ उनले दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन् ।







प्रतिक्रिया