झापा । झापाको पुरानो चर्चित बजार बैगुनधुरा झमकचोकमा गिरिजाप्रसाद कोइराला सामुदायिक भवन निर्माण हुने पक्का भएको छ । गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुराले निर्माण गर्ने सो भवनको कांग्रेस कोशी प्रदेश सभापति उद्धब थापाले शिलान्यास गर्नु भएको छ ।
जग्गादाता महेन्द्र चम्लागाईंले निः शुल्क उपलब्ध गराएको दुई कठ्ठा जमिनमा शिलान्यास गरिएको सो भवन ५० फुट लामो र ३० फुट चौडाइको हुने प्रतिष्ठान अध्यक्ष उत्तमबहादुर चम्लागाईंले बताउनुभयो । माघको पहिलो साताबाट निर्माण प्रारम्भ हुने सो एकतले भवनमा कार्यालय कोठा र शौचालय समेत रहनेछ ।

भवन निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने र जुटाउने क्रम जारी छ । प्रतिष्ठानको आजीवन सदस्यबाट शुल्क जनही पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ । अहिलेसम्म २० जना बढी व्यक्तिले आजीवन सदस्यता लिइसक्नु भएको छ । प्रतिष्ठान अध्यक्ष चम्लागाईंले भवन निर्माणका लागि सहयोगको अपील समेत गर्नुभएको छ । सो क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न कायम विद्यमान असहजता भवन निर्माणसँगै हट्ने अध्यक्ष चम्लागाईंले विश्वास व्यक्त गर्नुभयो ।
किरण भट्टराईको अध्यक्षतामा २०६७ सालमा गठन प्रतिष्ठानले विभिन्न सामाजिक कार्य गर्दै आएको थियोे । अघिल्लो महिना चम्लागाईं अध्यक्ष बनेसँगै सामुदायिक भवन निर्माणका लागि जग्गाको प्रबन्ध र शिलान्यास गरिएको हो ।
भवन शिलान्यास कार्यक्रममा बैगुअनधुराको डाँडागाउँको भलभद्र आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सो विद्यालयलाई घण्टी, विज्ञान सामग्री, नेपालको नक्शा लगायत सामग्री वितरण गरिएको अध्यक्ष चम्लागाईंले जानकारी दिनुभयो । बलभद्र लोपोन्मुख सन्थाल समुदायका विद्यार्थीको बाहुल्यता रहेको विद्यालय हो ।
सोही कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश श्रमिक तथा ट्रेड युनियन विभागले झापा क्षेत्र नम्बर ४ का २५ सामुदायिक विद्यालयमा सञ्चालन गरेको हिज्जे तथा निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमाणपत्र र सो कार्यमा सहयोग गर्नु हुने ३० जना शिक्षकलाई ‘सफलताको पाना’ मायाको चिनो प्रदान गरिएको थियोे ।
भवन शिलान्यास कार्यक्रम जेहेन्दार विद्यार्थी प्रोत्साहन पुरस्कारद्वारा लक्ष्मीनारायण माविका छात्रा प्रिया दर्नाललाई नगद १० हजार प्रदान गरिएको छ । दर्नाल सो माविबाट एईई उत्तीर्ण गर्ने जेहेन्दार विद्यार्थी हुनुहुन्छ । कार्यक्रममा बैगुनधुरा कीर्तन मण्डली सहयोग स्वरुप डायरी हस्तान्तरण गरिएको सामुदायिक भवन निर्माण समितिका अध्यक्ष दिवसपति पोखरेलले बताउनुभयो ।
कार्यक्रममा कांग्रेस झापा सभापति देउकुमार थेवे, महासमिति सदस्य सीताराम भट्टराई, प्रतिष्ठानका उपाध्यक्ष खेम प्रसाईं, सचिव कुवेरपति पोखरेल लगायतले भवन निर्माणले गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरणलाई चिरस्थायी बनाउने बताउनुभयो । उहाँहरुले सामाजिक कार्यमा सर्वपक्षीय सहयोग जुट्ने विश्वास व्यक्त गर्नुभयो ।







प्रतिक्रिया