बाहुनडाँगी । नेपाल-भारत सीमा क्षेत्रमा लामो समयदेखि जटिल समस्याको रूपमा रहेको मानव-हात्ती द्वन्द्व तथा सीमा सम्बन्धी समस्याहरूको दीर्घकालीन समाधानका लागि झापाको बाहुनडाँगीमा दुवै देशका सरोकारवालाहरूको संयुक्त सहभागितामा आठ बुँदे ‘बाहुनडाँगी घोषणापत्र-२०८३’ जारी गरिएको छ ।
इन्डो-नेपाल मिडिया फोरमको आयोजना तथा झापा जिल्ला वन कार्यालय, मेचीनगर नगरपालिका र मेचीनगर-४ को समन्वयमा असार २७ र २८ गते सञ्चालित अध्ययन-भ्रमण, अन्तरक्रिया तथा घनिभूत छलफलपछि यो महत्वपूर्ण प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

दुई दिने कार्यक्रममा नेपाल र भारतका सञ्चारकर्मी, वन, वातावरण, जैविक विविधता एवं वन्यजन्तु संरक्षणका क्षेत्रमा क्रियाशील विज्ञहरू, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सीमा क्षेत्रमा हात्तीको अनियन्त्रित प्रवेशका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्दै मानव-वन्यजन्तु सहअस्तित्व कायम गर्न दुवै देशका संघ, प्रदेश र स्थानीय सरकारबीच निरन्तर संवाद र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
घोषणापत्रमार्फत हात्तीको परम्परागत आवागमन मार्ग (बायोलोजिकल कोरिडोर) को संरक्षण, वैज्ञानिक अध्ययन, आधुनिक सूचना प्रणालीको विकास, समयमै क्षतिपूर्ति वितरण र स्थानीय समुदायमा जनचेतना अभिवृद्धिका लागि पहल गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । यसैगरी, वन्यजन्तुको निगरानीका लागि ड्रोन प्रविधि, प्रारम्भिक चेतावनी प्रणाली (अर्ली वार्निङ सिस्टम) र आवश्यक स्थानमा विद्युतीय सुरक्षाबार (इलेक्ट्रिक फेन्स) जस्ता आधुनिक प्रविधिको प्रयोगका लागि कानुनी एवं प्रशासनिक वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ । सीमा क्षेत्रको सुरक्षा, पर्यार्पयटन र हरित अर्थतन्त्रमार्फत स्थानीय तहमा रोजगारी सिर्जना गर्ने नीति लिनुपर्ने माग समेत घोषणापत्रमा उठाइएको छ ।
साझा समस्या समाधानका लागि उच्च सरकारी तहमा नियमित द्विपक्षीय संवाद, कूटनीतिक पहल र संयुक्त कार्ययोजना निर्माण गर्न नेपाल र भारत सरकारसँग अनुरोध गर्दै घोषणापत्रमा आवश्यक बजेट विनियोजन र संस्थागत संरचना सुदृढीकरणको माग गरिएको छ । संवाद र सहकार्यलाई निरन्तरता दिन इन्डो-नेपाल मिडिया फोरमलाई साझा मञ्चका रूपमा थप सक्रिय बनाउने निर्णय गरिएको छ ।
घोषणापत्र कार्यान्वयन तथा दुई देशबीचको समन्वयलाई प्रभावकारी रूपमा अघि बढाउन फोरमअन्तर्गत एक संयुक्त समन्वय समिति समेत गठन गरिएको छ । जसको भारततर्फको संयोजकमा प्रशान्त आचार्य र नेपालतर्फको संयोजकमा तीर्थ सिग्देल रहनुभएको छ । यो समितिले आवश्यकताअनुसार दुवै देशका सरकारी तथा गैरसरकारी निकायहरूसँग निरन्तर समन्वय र संवाद गर्दै घोषणापत्रका बुँदाहरू कार्यान्वयन गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएको छ ।
सोही कार्यक्रमअन्तर्गत मेचीनगरको पातालगङ्गा, मानव सेवा आश्रम, कृष्ण थुम्की मन्दिर, मनसा नागदेवी ४९ धारा, मिनी माउन्टेन, पाँचपोखरी सामुदायिक वन लगायत स्थल अवलोकन भ्रमण गरिएको थियो ।
घोषणपत्र सार्वजनिक कार्यक्रममा मेची डिभिजन वन कार्यालय प्रमुख सुरज निरौला, मेचीनगर वडा नं. ४ का अध्यक्ष अर्जुन कार्की, पाँचपोखरी सामुदायिक वनका अध्यक्ष भोगेन्द्र बस्नेत लगायतले धारणा राखेका थिए ।







प्रतिक्रिया