बैशाख १५, २०८१ शनिबार

बिर्तामोड वाणिज्य संघको निर्वाचन : अध्यक्षमा छ जनाको दावेदारी

बिर्तामोड । झापाकै ठुलो व्यवसायिक नगरी बिर्तामोडमा व्यवसायीलाई चुनाव लागेको छ । बिर्तामोड उधोग वाणिज्य संघले फागुन १६ गतेलाई निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तोकिएसँगै व्यवसायी नेताहरु भोट माग्न थालिसकेका छन् ।

जिल्लाकै महत्व बोक्ने बिर्तामोड उधोग वाणिज्य संघको निर्वाचनलाई मिनि संसद्को निर्वाचन कै रुपमा लिइने गरिएको छ । जसका कारण प्रमुख राजनीतिक दलको ध्यान यतिवेला बिर्तामोड उधोग वािणज्य संघतिर तानिएको छ । लामो समयदेखि नेपाली कांग्रेस निकट व्यवसायीले विजयी प्राप्त गर्दै आएको विर्तामोडमा यो पटक पनि कांग्रेसकै उम्मेद्वारलाई विजयी गराउन कांग्रेसले दौडधुप गरिहरेको छ ।

कांग्रेसले कब्जा जमाएको बिर्तामोड उधोग वाणिज्य संघमा यो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीले कांग्रेसको इतिहासलाई ब्रेक गर्ने दावी गर्दै आएका छन् । उनीहरु कांग्रेस र नेकपामा आवद्ध भए पनि व्यवसायीको बिचमा विभिन्न व्यवसायिक हितका योजनासहित भोट मागिरहेका छन् ।

फागुन १६ मा हुने निर्वाचनका लागि उम्मेद्वारको चर्चा समेत शुरु भएको छ । उम्मेद्वार मध्ये अहिले अध्यक्षको धेरै चर्चा भइरहेको छ । कार्यसमितिबाट संघका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी , उपाध्यक्ष राजु न्यौजाने, महिला उपाध्यक्ष पार्वता खरेल विमली, र महासचिव प्रशान्त भण्डारी अध्यक्षका बलिया दावेदार हुन् । उनीहरु सबै जना अध्यक्षका लागि मतदातासँग भोट मागिरहेका छन् । उनीहरु नेपाली कांग्रेस निकट हुन् । पूर्वअध्यक्ष बलराम कार्की समेत अध्यक्षको लाइनमा रहेको बुझिएको छ ।

यस्तै, नेकपाबाट पुराना एवम् युवा व्यवसायी सुवास भट्टराई एक्ला उम्मेद्वार बनेका छन् । नेकपाबाट भट्टराईलाई सर्वसम्मत उम्मेद्वार बनाइएको छ । यसअघि उपाध्यक्ष नारायण चिमरियाको समेत नाम चर्चामा थियो । चिमरियाले अध्यक्षमा भट्टराईलाई सहयोग गर्ने बताइसकेका छन् ।

संघको निर्वाचनमा कांग्रेसबाट अध्यक्षमा पाँच जना र नेकपा निकट व्यवसायीको तर्फबाट एक जना उम्मेद्वार बन्ने निश्चित देखिएको छ । भट्टराईले इजलाससित कुरा गर्दै भने, निर्वाचन अगावै यो गर्छु, त्यो गर्छु भन्दिन । निर्वाचन जितेर गर्ने हो । उनले भने, ‘यसअघिका वाणिज्य संघले के–के गरे ? भवन बनाउने बाहेक केहि काम भएको छैन । अब म व्यवसायीको तमाम् समस्या समाधानमा लाग्नेछु ।’ व्यवसायीको सबै खाले समस्या समाधान गर्न संघ मै डेक्स स्थापना गर्ने, सीए राखेर व्यवसायीलाई अडिटका समस्यामा सहयोग गर्ने भट्टराईको योजना छ ।
यता, प्रशान्त भण्डारीले व्यवसायीको समस्या समाधानमा आफ्नो सधैं अगुवाई हुने गरेकाले अध्यक्षमा मत दिन आग्रह गरेका छन् । उनले व्यवसायीलाई कुर्सीमा बस्ने भन्दा व्यवसायीको समस्या बुझ्ने व्यक्ति संघलाई आवश्यक रहेको बताए ।

संघको निर्वाचनका लागि शेखर ढकाललाई निर्वाचन अधिकृतका रुपमा नियुक्ति गरिएको छ । सहायक अधिकृतहरुमा राजेन्द्र चम्लागाई र बुद्धिराम भट्टराई नियुक्ति गरिएको संघले जनाएको छ । निर्वाचनका लागि आवश्यक तयारी भइरहेको संघ प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]