जेष्ठ ५, २०८१ शनिबार

सहकारीको योगदान

सम्पादकीय

नागरिकको जीवनमा परिवर्तन ल्याउन सहकारी क्षेत्रको योगदान सम्मानयोग्य छ । सहकारी क्षेत्रले आम नागरिकमा आर्थिक चेतनालाई जगाएको छ । जसका कारण नागरिकको घरघरमा बचतको नशा लागेको छ । श्रम पश्चात प्राप्त हुने मुल्यलाई बचतमा परिणत गर्न सिकाउने सहकारी आन्दोलन आज स्थापनाको ६३ वर्ष पुरा गर्दैछ । त्यसैको अवसरमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ । सहकारीले घरघरमा खुशी ल्याएको छ । यसले रोजगारको क्षेत्रमा अथाह योगदान गरेको छ । त्यसले राज्यलाई समेत ठुलो सहयोग मिलेको छ ।

सहकारी स्थापनापछि गरिव, विपन्नसम्म आर्थिक पहुँच छ । साना व्यवसायीका लागि सहकारीले मद्दत पुर्याइरहेका छन् । ठुला बैंकले सानासाना व्यवसायीलाई समेट्न नसकिरहेको अवस्थामा सहकारीले उनीहरुलाई उद्यमी बनाउन सहयोग गर्दै आएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा निर्धारण गरिएको छ । यसलाई व्यवहारमा प्रयोग गर्न अपरिहार्य छ । धेरै सहकारी अझै पनि सामाजिक योगदानमा पछि परेका छन् । घुमाइफिराई कमाउने मात्रै अन्तिम उदेश्य राख्ने सहकारी वास्तवमै सफल बनेका छैनन् ।

झापा सहकारीको लाल किल्ला पनि हो । नेपालको सहकारी आन्दोलनमा झापाले निर्भाह गरेको भूमिका अविस्मरणीय छ । तर, यसका पछाडि धेरै कमिकमजोरी पनि छन् । सहकारी शुरुआतमा जस्तो विपन्न नागरिकको हितमा छैनन् । सहकारीले पनि पछिल्लो समय ठुला व्यापारी ताकिरहेका छन् । सानो व्यवहार हुनेलाई सहकारीले मद्दत गर्न लगभग छाडेको छ । ठुलै घराना ताक्ने सहकारीले बाटो विराइरहेका छन् । सहकारीले आर्थिक उपार्जनमा सानै कारोवार हुनेलाई प्राथमिकता दिनुपर्छ । सहकारीले अन्ततःबचत ऋण मात्र होइन, सामाजिक योगदान हुने गरी काम गर्न जरुरी छ । हरेक नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सहकारी सबैको मनमनमा रहन सक्नुपर्छ । स्थापना दिवसको शुभकामना ।

प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]