जेष्ठ १, २०८१ मंगलबार

प्रसूति सेवामा अब्बल पाँचथर अस्पताल, छिमेकी जिल्लावासीसमेत लिन्छन् सेवा

पाँचथर – पाँचथर जिल्ला अस्पतालले प्रसूति सेवामा अब्बल सेवा प्रदान गर्दै आएको छ । विगतका तीन आर्थिक वर्षमा यस अस्पतालले बर्सेनि एक हजारभन्दा बढी महिलालाई सुत्केरी गराएको छ । यस अस्पतालले प्रसूति सेवा दिएका महिलाको सङ्ख्यामा बर्सेनि वृद्धिसमेत भइरहेको छ । यस्तै शल्यक्रियामार्फत सुत्केरी गराइएको सङ्ख्यासमेत वार्षिकरूपमा वृद्धि भइरहेको अस्पतालको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७५–०७६ मा यस अस्पतालले एक हजार ९८ महिलालाई सुत्केरी गराएको थियो । तीमध्ये १४३ जनाको शल्यक्रिया गरिएको थियो । यस्तै आव २०७६–०७७ मा अस्पतालले एक हजार १७८ महिलालाई सुत्केरी गराएको थियो । तीमध्ये १८३ को शल्यक्रिया गर्नुपरेको थियो ।

कोभिड–१९ सङ्क्रमणको महामारी र अप्ठ्यारोका बाबजुद गत आव २०७७–०७८ मा यस अस्पतालमा सुत्केरी गराउने तथा शल्यक्रिया गर्नुपर्ने महिलाको सङ्ख्यामा झनै वृद्धि भएको देखिन्छ । गत आवमा यस अस्पतालमा एक हजार ३७४ महिलाको सुत्केरी गराइएको छ । तीमध्ये ३२० को शल्यक्रियामार्फत प्रसूति गराइएको पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशीले जानकारी दिए ।

प्रसूति सेवा तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिने महिला पाँचथर जिल्लाका मात्रै छैनन् । अघिल्ला दुई आवको तथ्याङ्क प्राप्त नभए पनि गत आवमा शल्यक्रियामार्फत प्रसूति गराइएकामध्ये २२ प्रतिशत महिला जिल्ला बाहिरका छन् । गत आवमा ३२० आमाको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो । तीमध्ये ५१ ताप्लेजुङका, १८ तेह्रथुमका र तीन जना इलामका थिए । यस्तै बिना शल्यक्रिया प्रसूति गराइएकामध्ये ताप्लेजुङका ८१ र तेह्रथुमका ७९ जना रहेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।

विगत एक दशकदेखि प्रसूतिका लागि ख्याति कमाएको पाँचथर जिल्ला अस्पतालमा अहिले शल्यक्रियामार्फत प्रसूति गराउन सक्ने दुई जना विशेषज्ञ ९एमजीडीपी० चिकित्सक छन् । यस्तै एक जना एड्भान्स एसपिए तालीम लिएका चिकित्सकसमेत सेवामा छन् । “अहिलेसम्म सहजरूपमै प्रसूतिको सेवा दिँदै आएका छौँ” अस्पतालका सूचना अधिकारीसमेत रहनुभएका मेडिकल रेकर्ड अधिकृत जोशीले भने, “कोभिड–१९ का बिरामीको उपचारका लागि एचडियुसमेत अस्पतालमै सञ्चालनमा रहेकाले अहिले भने जनशक्तिको अभाव भएको छ ।”

प्रसूति सेवामा दशकभन्दा लामो समय अघिबाट पाँचथर अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ । स्त्रीरोग विशेषज्ञ डा।पवनजङ्ग रायमाझीले जिल्ला अस्पतालबाट सेवा दिएपछि पाँचथर अस्पताल प्रसूतिका लागि देशमै कहलाएको थियो । त्यसपछि पनि स्त्रीरोग विशेषज्ञ डा पवन शाह र अहिले डा।बुद्धिबहादुर थापाले जिल्ला अस्पतालको नेतृत्व गरी सेवा दिँदै आएका छन् । “पाँचथर अस्पतालले एउटा जिल्ला अस्पतालका रूपमा नभई क्षेत्रीय अस्पतालका रूपमा पाँचथरसहित इलाम, तेह्रथुम र ताप्लेजुङका जनतालाई सेवा दिँदै आएको छ”, अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले भने । “त्यसैले पाँचथर अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्न निरन्तर प्रयासरत छौँ ।”

अस्पतालमा अहिले ६ जना चिकित्सक सेवामा रहे पनि एक जना आउँदो भदौमा विदा हुँदैछन् । तत्कालै मेडिकल अधिकृत तीन जना र डेन्टल सेवामा एक जना स्वास्थ्यकर्मी आवश्यक रहेको जोशीको भनाइ छ । बिरामीले चाप हुने अस्पतालमा अहिले १४ वटा पद रिक्त रहेको सूचना अधिकारी जोशीले बताए । प्राविधिक जनशक्ति अभावकै कारण जिल्ला अस्पतालमा प्राप्त भएको सघन उपचार कक्ष ९आइसियु० र भेन्टिलेटर प्रयोगविहीन छ । कोभिडका बिरामीलाई समेत अस्पतालकै जनशक्तिले व्यवस्थापन गरी आकस्मिक, ओपिडी, प्रसूति सेवा नियमित सञ्चालन भइरहेको छ ।

पन्ध्र शय्या सञ्चालनको स्वीकृति पाएको भए पनि अहिले यो अस्पतालले ३५ शय्यामा बिरामीलाई सेवा दिइरहेको छ । बिरामीको चाप र क्षेत्रीय आवश्यकताका आधारमा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश नं १ सरकारले चालु आवको नीति तथा कार्यक्रममा १०० शय्यामा विस्तार गर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार  ४ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]