बिर्तामोडको सडकमै विक्यो जुम्लाको स्याउ
बिर्तामोड । व्यापारीले जुम्लाको स्याउ बिर्तामोड ल्याएका छन् । जुम्लाकै व्यापारीले स्याउ लिएर झापा आएका हुन् । केहिदिनदेखी उनीहरु झापाको दमक, बिर्तामोडसहित साना बजारहरुमा स्याउ बेच्दै घुमिरहेका छन् ।
६ टन स्याउ लिएर झापालीलाई स्वाद् चखाउने उदेश्य राखेर आएका व्यापारी खिन्न भएका छन् । उनीहरुले सोचे अनुरुप व्यापारीले स्याउ खरिद नगरेको जानकारी दिए । व्यापारीले स्याउ नराख्दा विग्रिने डर बढेको बताएका छन् । जुम्लाका व्यापारी टोप बहादुर शाहीले स्वदेशको राम्रो उत्पादनप्रति नेपाली नागरिककै मोह कम भएको उनको गुनासो छ । झापाको बजारमा भारत र चिनबाट स्याउ आउने गर्छ । फलफुल व्यवसायीका अनुसार केरा र नरिवलबाहेक सबैजसो फलफुल नेपाल बाहिरकै आउने गरेको छ ।

ट्रक नै लिएर स्याउ विक्रि गर्न आएका व्यापारी दमक हुँदै शनिवार बिर्तामोड आएका छन् । उनीहरुले अर्गानिक स्याउ भएको दावी गर्दै व्यापारीलाई खरिद गर्न आग्रह गरे पनि विक्रि गर्न सकेका छैनन् । व्यापारीले चिन र भारतको स्याउ बेचिरहेका छन्, शाहीले भने – आफ्नै देशको उत्पादन उहाँहरु राख्नुहुन्न ।
कृषिथोकका फलफुल व्यापारी नविन बरालले चिन र भारतबाट आएको स्याउ हेर्दै खाउँखाउँको हुन्छ, हेर्दै आकर्षक हुन्छ भन्दै जुम्लाको स्याउ उपभोक्तालाई विक्रि गर्न पनि गाह्रो हुने बताउँछन् । उनले स्थानीय उपभोक्ता नै चिन र भारतको स्याउ खोज्ने गरेको बताए । जुम्लाको स्याउ अरु स्याउ जस्तो आकर्षक नहुने उनको भनाई छ । बिर्तामोडमा जुम्लाका व्यापारीले शनिवार अवेरसम्म शनिश्चरे रोडमा स्याउ बेचेका छन् । शाहीका अनुसार अन्य बजार भन्दा बिर्तामोडमा धेरै स्याउ बिक्रि भएको छ । सडक मै १५० रुपैयाँ प्रति केजी स्याउ विक्री गरिएको शाहीको भनाई छ । अब विक्री गर्न २५ प्रतिशत मात्रै बाँकी रहेको उनको भनाई छ ।