जेष्ठ ५, २०८२ आईतबार

फोहोरको डंगुरमा बिर्तामोड

बिर्तामोड । झापाको बिर्तामोडमा फोहोर उठ्न छोडेको छ । फोहोर उठाउने ठेक्का पाएको निराकार सरसफाई सेवा प्रालिले फोहोर उठाउन छोडेको हो । फोहोर उठाउन छोडेपछि चोक–चोक फोहोर थुप्रिन थालेको छ । भदौरै झरीका कारण फोहोर बगाएर बिर्तामोड झनै हाल वेहाल भइरहेको छ ।

केहि महिनाअघि मात्रै फोहोर उठाउने सम्झौता गरेको निराकारले फोहोर उठाउन छोडेपछि शुल्क तिरेकाहरु समस्यामा परेका छन् । शुल्क बुझाइसकेका सेवाग्राहीले तत्काल फोहोर उठाइदिन माग समेत गरेका छन् । यता, निराकारले फोहोर उठाएर फाल्ने ठाउँ नभएकाले समस्या भइरहेको जनाएको छ । निराकारका बिर्तामोड प्रमुख रविन भट्टराईले ल्याण्डफिल्ड साइडको अभावका कारण फोहोर उठाउन नसकेको जानकारी दिए । उनले भने, फोहोर उठाउन त सकिन्छ, तर कहाँ फाल्नु ? फोहोर फाल्ने ठाउँ नभएकै कारण १० दिनदेखि फोहोर नउठाएको उनको भनाई छ । भट्टराईले नगरपालिकाले ल्याण्डफिल्डको व्यवस्था गरिदिने भनेपछि व्यवस्थापनको जिम्मा लिएको बताए ।

फोहोरको डंगुरमा बिर्तामोड

बिर्तामोड नगरपालिकाले बिर्तामोड –८ मा मधु गौतमको जग्गामा ल्याण्डफिल्ड बनाउने गरि तयारी गरेको थियो । गत हप्ता मात्रै स्थानीयसँग छलफल गरेको नगरपालिका फेरि पछि हटेको छ । पहिलो चरणको छफलफलमा फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड बनाउन दिने सहमति गरेका स्थानीय आफै विरोधमा उत्रिएपछि नगरपालिका पछि हटेको हो । त्यपछि नगरपालिकाले देउनीया पुल पारी दक्षिणमा चियन बगान क्षेत्रमा तत्कालको समाधानका लागि ठाउँ पाएको थियो । जग्गा धनीले जग्गा दिएपछि खोला वारीका नागरिकले फेरि विरोध गरेका छन् ।

यसबारे बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले फोहोर व्यवस्थापन नगरपालिकलको पहिलो प्राथमिकता भएको बताए । उनले फोहोर फाल्ने ठाउँको अभाव भएकै कारण उठाउन समस्या भइरहेको जानकारी दिएका छन् । हरेक दिन फोहोर व्यवस्थापनका लागि ठाउँको खोजी र सम्पर्क समन्वय गर्ने काम भइरहेको उनको भनाई छ । ल्याण्डफिल्ड साइडको प्रवन्ध गर्न नसक्दा समस्या भइरहेकोले तत्काललाई अहिलेको फोहोर फाल्नका लागि स्थानको खोजी गरिरहेको उनको भनाई छ ।

केहि दिनअघि मात्रै नगरले सर्वदलीय बैठक डाकेर बिर्तामोडको फोहोर व्यवस्थापन बारे दलहरुलाई जानकारी गराएको थियो । सो बैठकमा अधिकांस राजनीतिक दलका प्रतिनिधिहरुले फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । नगर प्रमुख धु्रव कुमार शिवाकोटीले फोहोर व्यवस्थापनका लागि हदैसम्मका प्रयास गरेको बताएका छन् । उनले विभिन्न ठाउँमा जग्गा व्यवस्थापन गर्दा समेत विरोध भएपछि समस्या समाधान नभएको बताए । ल्याण्डफिल्ड साइड बनाउन जग्गाका लागि जिल्लाका धेरै ठाउँमा जग्गा हेरे पनि फोहोर फाल्न साथ स्थानीयबाट विरोध हुने गरेको सुनाए । उनले फोहोर व्यवस्थापनमा सबैको सहयोग अपरिहार्य भएको बताएका छन् ।

प्रकाशित मिति : भाद्र १३, २०७८ आईतबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]