वैदेशिक रोजगारीमा ठगी : बिचौलियाले न पठायो, न फिर्ता गर्यो
अम्बिका भण्डारी
झापा । भद्रपुर नगरपालिका वडा नं. ५ का पाँच युवा चिनेजानेका बिचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन् ।
संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी भद्रपुर नगरपालिका वडा नं. ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्ष अघि ती युवाबाट तीन लाख ५० हजार असुलेका थिए । उराउ वैदेशिक रोजगारीमा युवा खोज्ने विचौलिया हुन् ।
ठगीको शिकार हुनेहरुमा बेचन यादव (३४ वर्षीय), रोहित यादव (३३ वर्षीय), राजीव सहनी (२८ वर्षीय), मनोज मण्डल (३७ वर्षीय) र सञ्जय चौधरी (३१ वर्षीय) रहेका छन् ।
वैदेशिक रोजगारीमा पठाइदिने भनी रकम असुलेपछि विभिन्न बहानामा आलटाल गर्दै आएका पीडक उराउले गत वर्ष वडाध्यक्षको रोहवरमा रकम तिर्ने भाकासहितको कागजमा सही पनि गरेका थिए ।
पाँच वर्ष बितिसक्दा पीडित युवा नत वैदेशिक रोजगारीमा जान पाए, नत ऋण काढेर जम्मा गरेको उनीहरुको रकम फिर्ता नै भयो ।
गाउँकै चिनेजानेको दाइ भएकाले उहाँ (गोपाल उराउ) ले भनेको पत्यायौं, ठगीमा परेका भद्रपुर–५ का ३४ वर्षीय बेचन यादव भन्छन् – ‘पैसा पहिल्यै जम्मा गर्न लगाउनुभयो । भनेकै बेला ऋण काढेर भए पनि दियौं । तर अहिले विदेश पठाउने कुरै हरायो, पैसा पनि फिर्ता पाउन सकेनौं ।’
पर्ख भन्दै आलटाल गरेको तीन वर्ष बितेपछि पीडितहरुले गत वर्ष नगरपालिका गुहारेका थिए । वडाध्यक्ष बन्धु कार्कीको रोहवरमा २०७८ असार २७ गते चार महिनाको भाका राखी रकम तिर्ने कबुलनामा कागज समेत गरिएको थियो । तर, कागजमा तोकिएको भाकाभित्र पनि उराउले रकम फिर्ता गरेनन् ।
आर्थिक रुपमा विपन्न परिवारका ती पाँच युवा आफ्नो पीडा बोकेर वैदेशिक रोजगार विभाग पुगे । २०७८ मङ्सिर २८ गते विभागमा उनीहरुले रीतपूर्वक उजुरी दिएका छन् । तर, विभागले पनि अहिलेसम्म पीडितलाई न्याय दिलाउन र पीडकलाई कानूनी कार्वाहीको दायरामा ल्याउन सकेको छैन ।
‘यस्तो मुद्दा वैदेशिक रोजगार विभागले हेर्छ भनेर सल्लाह पाएपछि हामी पाँचै जना मिलेर संयुक्त निवेदन दियौं,’ अर्का पीडित भद्रपुर–५ का २८ वर्षीय राजीव सहनी भन्छन् – ‘विभागका सरहरुले व्याजसहित पाँच लाख ५० हजार तिराइदिन्छौं भन्नुभएको छ ।’
पीडितहरुका अनुसार वैदेशिक रोजगार विभागले यस मुद्दामा कार्वाही प्रक्रिया अघि बढाए तापनि परिणाम भने निस्किएको छैन । विभागले पीडक उराउविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । पक्राउ पूर्जी जारी भएको सुइँको पाएपछि उराउ फरार छन् । अचेल गाउँतिर उनी देखिदैनन् । पीडितहरु प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेकोमा निराश छन् ।
प्रशासनमा उजुरीको चाङ
वैदेशिक रोजगारीमा भएका ठगीका घटनामा प्रमुख जिल्ला अधिकारीसमक्ष समेत उजुरी दिन सकिने कानूनी व्यवस्था छ ।
झापामा एक वर्षमा वैदेशिक रोजगारीका ठगी सम्बन्धी ३४ वटा उजुरी दर्ता भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनी प्रजिअको रुपमा झापा आइसकेपछि नै २० वटा त्यस्ता उजुरी प्रशासनमा आइसकेका छन् । आपसी सहमतिमा रकम फिर्ता हुने रहेछ भने जिल्लामै छलफल चलाउने र नत्र आवश्यकता अनुसार वैदेशिक रोजगार विभागमा उजुरी पठाउने कार्य हुँदै आएको प्रजिअ रिजालले बताए ।
एक वर्षमा पाँच वटा मुद्दामा पीडितहरुको २३ लाख ६० हजार फिर्ता गराएको र अरु पाँच वटा मुद्दाको रकम फिर्ता गर्ने सहमति भएको उनले जानकारी दिए । आठ वटा मुद्दालाई वैदेशिक रोजगार विभागमा पठाइएको उनको भनाई छ ।
बेरोजगारी समस्याले पिरोलिएका सर्वसाधारण युवाहरु सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको शिकार बन्ने क्रम बढेको छ ।
‘ठगी गर्नेलाई कानूनी कार्वाही गरेर रकम फिर्ता गराउने र पीडकलाई दण्डित गर्ने कुरा त छँदैछ,’ प्रजिअ रिजाल भने– ‘रोजगारीमा जान लागेको व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगी हुने सम्भावना रहँदैन । पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन् ।’ रोजगारीमा जाने व्यक्ति र उसको अभिभावकलाई पालिका स्तरमै परामर्श दिन हेल्प डेस्क राख्ने हो भने ठगीको समस्या न्यूनीकरण हुने प्रजिअ रिजालको सुझाव छ ।