जेष्ठ ५, २०८२ आईतबार

१९ औँ राष्ट्रिय धान दिवस मनाइने

बिर्तामोड । सरकारले औपचारिक रुपमा यस वर्षको १९ औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाइने भएको छ । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले जनाएको छ ।

विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस औपचारिक सुरुआत गरिने जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ । धान दिवसलाई रोपाइँ दिवस पनि भनिन्छ । असार १५ गते नेपालमा दही चिउरा खाने चलनसमेत चलिआएको छ । चिउरा धान कुटेर तयार पारिने खाद्यान्न हो ।

नेपालीको प्रमुख खाद्यन्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा बढोत्तरी हुन्छ भने घट्दा जिडिपी घट्ने गरेको पाइन्छ । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । विश्वका झन्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा महत्व छ ।

नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन करिब ३१ लाख हेक्टर रहेको छ ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]