बैशाख २३, २०८१ आईतबार

निराकारको शव सरकारले नै झिकाउछ भन्ने आशमा बसेका छौं : पाण्डे परिवार

बिर्तामोड । कम्बोडियामा ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाई भएको छ । अहिलेसम्म पाण्डे परिवार शव कसले ल्याउछ भन्नेमा अन्यौल भइरहेको मृतकका दाई खगेन्द्र उप्रेतीले जानकारी दिए ।
गत बिहीवार भएको घटनापछि नियमित विदा भएका कारण प्रक्रियाअघि बढाउन ढिलाई भइरहेको थियो । उप्रेतीले भने, हिजोबाट मात्र प्रक्रिया अघि बढेको छ । परिवारले आफै ल्याउने कि सरकारले ल्याउने भन्ने बारे हामी अन्यौलमा छौं ।

मन्त्रिपरिषद्बाट शव ल्याउने निर्णय भए चाँडो काम हुने परिवारको अपेक्षा छ । अहिले मन्त्रिपरिषदमा राम्रै व्यक्तिहरु पुगेका कारण पाण्डेको शव ल्याउन सरकारले नै पहल गर्ने परिवारको विश्वास छ । परिवारले प्रक्रिया अघि बढाए धेरै समय लाग्न सक्ने भएकोले सरकारकै पहलबाट शव ल्याइनुपर्ने माग गरिएको छ । ८ देखि १० हजार डलर खर्च हुन्छ, उप्रेतीले भने, सरकारका विभिन्न राहत कोषहरु छन् । त्यसैमाध्यमबाट सरकारले शव ल्याउन सक्छ । सरकारले नल्याए हामीले जति समय लागे पनि ल्याउनैपर्छ ।

सरकारभन्दा बाहिर हुँदा रवि लामिछानेले देश बाहिरबाट नेपालीहरुको शव ल्याउन धेरै पहल गर्नुभएको थियो, उनले भने – हामीलाई विश्वास छ, गहृमन्त्रीको जिम्मेवारीमा पुगेपछि उहाँले अवश्य यो काम गर्नुहुन्छ । हामी सरकारकै पहलमा शव नेपाल ल्याइनुपर्छ भन्नेमा छौं ।

पाण्डेको शव कम्वोडियास्थित एक अस्पतालमा राखिएको परिवारको भनाई छ । परिवारले थाइल्याण्डमा रहेको नेपाली दुतावाससँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

पाण्डेका बुबा अग्नि पाण्डेले छोराको शव नेपाल ल्याइसकेको भनेर भ्रम नफैल्याउन आग्रह गरेका छन् । छोराको शवको पर्खाइमा बसेको परिवारलाई पीडामाथि थप पीडा नदिन उनले अनुरोध गरेका हुन् । शव ल्याउन हामीले सरकारसँगै समन्वय गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : पुष १९, २०७९ मंगलबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]