बैशाख २३, २०८१ आईतबार

यातायात सेवा सुधारमा सरकारको सकारात्मक पहल

काठमाडौं । नेपालमा सहजरुपमा सवारी चालक अनुमतिपत्र मुस्किल छ । अनुमतिपत्र पाउनु नै युद्ध जिते जस्तै हुने गरेको छ । सेवाग्राहीले पाउने दुःख भनीसाध्ये छैन । कहिले मेसिनले काम नगरेको, कहिले ‘सिष्टम’ नचलेको भन्दै सेवाग्राहीले पाएको हैरानी भोग्नेलाई मात्र थाहा हुन्छ ।

यातायात व्यवस्था विभागका वरपर भेटिने विचौलियाको राज भनीसाध्यै छैन । सेवाग्राहीले सहजरुपमा सेवा पाउने कुरा पर नै भयो । अनुमतिपत्र पाउनुभन्दा परीक्षामा सहभागी हुन पाउनु नै ठूलो कुरा छ । परीक्षामा उत्तीर्ण भए पनि अनुमतिपत्र लिन कति समय लाग्ने हो, त्यसको कुनै ठेगान छैन । इम्बोस्ड नम्बर प्लेट लिनका लागि उस्तै समस्या छ ।

सवारी साधनको अवस्थाको परीक्षण गर्ने निकायमा उस्तै समस्या भोग्नुपर्छ, सेवाग्राहीले । सरकार भएको अनुभूति नागरिकले कही कतै पनि गर्न पाएका थिएनन् । नयाँ सरकार गठन भएपछि नागरिकको यही समस्या समाधान गर्ने तत्परता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस ११ गते पदभार ग्रहण गर्दै नागरिकले सहजरुपमा सेवा पाउने वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही प्रतिबद्धता कार्यान्वयन गर्ने लक्ष्यका साथ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज काठमाडौँ उपत्यकामा रहेका यातायात कार्यालयको अनुमगन गर्नुभयो । उहाँले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनै कमी हुन नहुने बताउनुभयो । काठमाडौँ उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयको आज अनुगमन÷निरीक्षणका क्रममा कार्यालय प्रमुखलाई निर्देशन दिँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “जनताले धेरै दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन । जनताको हितमा काम गर्नुस् ।”

उहाँले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न, नयाँ अनुमति लिने प्रक्रिया छिटोछरितो प्रक्रियाबाट गर्न निर्देशन पनि दिनुभयो । श्रेष्ठले भन्नुभयो, “गुणस्तरीय सेवामा ‘नो कम्परमाइज’, नियमपूर्वक काम गर्नुस् ।” कार्यालयमा विचौलियाको बिगबिगी भएको गुनासो आएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले विचौलियाको अन्त्य र विचौलियाको चलखेल बन्द गर्न कडा निर्देशन दिनुभयो ।

गलत काम गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही र दण्डित गरिने चेतावनी दिँदै श्रेष्ठले कर्मचारीलाई कर्तव्य र दायित्व भुल्न नहुने बताउनुभयो । कर्मचारीको मानसम्मान र प्रतिष्ठा बढोस् भन्ने कुरामा आफू सचेत रहेको बताउनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “सबै कर्मचारीको सम्मान र प्रतिष्ठा स्थापित गर्न चाहन्छु । राष्ट्रसेवक कर्मचारीले देश जनताको सेवा गर्ने हो । कुनै सेवा सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनै समस्या भए मलाई भन्नुस् तर जनतालाई दिने सेवा सुविधामा कुनै कमीकमजोरी नहोस् ।”

उपप्रधानमन्त्री श्रेष्ठले लाइसेन्स कार्यालय ठूलो भ¥याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको पनि अनुगमन-निरीक्षण गर्नुभयो । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारणसँग अन्तक्र्रिया गर्नुभएको थियो भने गुनासो पनि सुन्नुभयो । उहाँले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिनुभयो । सेवा दिने समय बढाउन, छिटो छरितो ढङ्गले काम गर्न र अनियमितता, विचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । कहीँकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उहाँले बताउनुभयो ।

अनुगमनको क्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, भौतक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका प्रमुख र प्रदेश मन्त्रालयका सचिवलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : पुष १९, २०७९ मंगलबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]