बैशाख २३, २०८१ आईतबार

प्याब्सनले गायन तथा नृत्य प्रतियोगिता गर्ने

भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन)को ३२ औं स्थापना दिवसको अवसरमा दुईदिने जिल्लास्तरीय बृहत् गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ ।

प्याब्सन जिल्ला कार्य समिति झापाले आफ्नो स्थापना दिवसको अवसरमा सदरमुकाम भद्रपुरस्थित मेची रंगशाला अगाडिको खुला मैदानमा यही पुस २४ र २५ गते जिल्लास्तरीय बृहत् गायन तथा नृत्य प्रतियोगिता गर्न लागेको हो ।
‘संस्थागत विद्यालय बीच एकता, गुणस्तरीय शिक्षा एक मात्र प्रतिवद्धता’ भन्ने मुल नाराका साथ प्याब्सन झापाले भद्रपुरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारेमा जानकारी गराएको हो । प्याब्सन झापाले कचनकवलबाहेक १४ वटा पालिकामा पालिकास्तरीय प्याब्सन समिति गठन गरेको छ ।

१४ वटै पालिकामा मंसिर २१ गतेदेखि पुस २ गतेसम्म पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगितामा प्रथम हुने विद्यालय तथा विद्यार्थी जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले जानकारी दिए ।
झापामा २०६४ सालदेखि स्थापना दिवसलाई भव्य रुपमा मनाउँदै आएको बताउँदै अध्यक्ष फागोले भने, ‘प्याब्सनले हरेक वर्ष छुट्टाछुट्टै पालिकामा यस प्रकारको प्रतियोगिता गर्दै आइरहेकोमा यस पटक भद्रपुरमा प्रतियोगिता गर्न लागेको हो ।’ पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराएर विद्यार्थीको चौतर्फी विकासमा प्याब्सन लागि परेको उनले बताए ।

विगतका बर्सहरूमा प्याब्सनले यस्तो प्रतियोगिता विद्यालय हाताभित्र वा कुनै भवनभित्र आयोजना गर्दै आइरहेको थियो । ‘यस वर्षदेखि प्याब्सनको प्रतियोगिताका सबैले हेरिनु र अभिभावकमा राम्रो सन्देश जाउन् भन्ने उद्देश्यले खुला मैदानमा गर्न लागेको हो,’ उनले भने । प्रतियोगिता सम्पन्न गर्न लागेको करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए । प्रतियोगितामा चार वटा विधामा विद्यालय र विद्यार्थीले सहभागिता जनाउने प्याब्सन झापाका उपाध्यक्ष छत्र कार्कीले बताए ।

कक्षा ५ सम्मको विद्यार्थीले जुनियर गायन, कक्षा ५ देखि १० सम्म र कक्षा ११ देखि १२ सम्मको विद्यार्थीको लागि छुट्टाछुट्टै गायन प्रतियोगिता हुनेछ । नृत्यतर्फ मोड्न, राष्ट्रियता झल्काउने र जातियता तथा भेसभुसा झल्काउने गरी तीन किसिमका नृत्य हुने उपाध्यक्ष कार्कीले बताए । प्रतियोगितामा प्रथम हुने विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन् । प्रदेशस्तरीयमा प्रथम हुनले राष्ट्रियस्तरीय प्रतियोगितामा भाग लिने उनले बताए ।

यता, प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्याब्सन भद्रपुरका सचिव सन्देश राईलाई जानकारी दिए । कार्यक्रम स्थलमा पन्डाल निर्माण कार्य ९० प्रतिशत सकिसकेको छ । पाँच वटा स्वागत गेट निर्माण भइरहेको बताउँदै सचिव राईले भने, ‘अब स्टेजको काम मात्र बाँकी छ, २ हजार कुर्सी अट्ने पन्डाल बनाएका छौँ, ५ हजार अभिभावक कार्यक्रममा सहभागी गराउने लक्ष्य छ ।’

सो कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरे, केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, प्रदेश सचिव पोषराज प्याकुरेल, प्रदेशका सह कोषाध्यक्ष इशुभ पाण्डे, भद्रपुरका सल्लाहकार राजेन्द्र घिमिरे लगायतले आआफ्नो धारणा राखेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव हरिकृष्ण पाठकले गरेका थिए ।

प्रकाशित मिति : पुष २०, २०७९ बुधबार  १० : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]