बैशाख २३, २०८१ आईतबार

झापामा मिटरव्याजी विरुद्धको उजुरीमा कारबाही : ५ जनालाई अदालत पठाइयो

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापामा मिटरव्याजी पीडितहरुले गरेको २४ उजुरीमध्ये एउटा मात्र समाधान भएको छ । बिर्तामोड–४ का एक जना पीडितको समस्या समाधान भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडका पीडितले ३ लाख कारोवार गर्दा ९ लाख दावी गरिएको भन्दै प्रशासनमा उजुरी दिएका थिए । उनीहरु बीच आपसमा सहमति भइसकेको बताइएको छ । दुवै पक्षलाई प्रशासनले राखेर छलफल गरेको थियो ।

सरकारले अनौपचारिक कारोवारबाट पीडितहरुलाई जिल्ला प्रशासनमा उजुरी दिन भनेको थियो । सोही आधारमा झापाका २४ जनाले उजुरी दिएपनि २३ वटा मात्र लिइएको थियो । जिल्ला प्रशासन कार्यालय झापाले एउटा उजुरी मिटरव्याजसँग सम्बन्धित नभएको भन्दै फिर्ता पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन दमकमा जम्मा २३ उजुरी दर्ता भएका थिए । त्यसमध्ये दुई वटा उजुरीमा छलफल जारी रहेको छ । दुई वटा उजुरीमा दुवै पक्ष उपस्थित नभएकोले कारबाही प्रक्रिया अघि बढेको छैन ।
५ वटा उजुरीलाई जिल्ला अदालत पठाइएको प्रशासकीय अधिकृत डिकप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार प्रशासनकै छलफलबाट नमिल्नेहरुलाई अदालत पठाइएको हो । यस्तै, गौरीगञ्ज गाउँपालिकामा न्यायिक समितिमा कारवाही चलिरहेको एउटा मुद्धालाई गौरीगञ्जलाई नै पठाइएको छ भने अर्का एक जना उजुरी कर्तालाई जिल्ला प्रहरी पठाइएको छ ।

जिल्ला प्रशासनले हालसम्म मिटरव्याजी पीडितसँग दुवै पक्ष राखेर १२ वटा छलफल चलाइसकेको प्रशासकीय अधिकृत दाहालले जानकारी दिए । उनले आर्थिक कारोवार गर्दा औपचारिक रुपमा गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : पुष २०, २०७९ बुधबार  १० : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]